कोरोनाबिरुद्ध लड्न सार्क राष्ट्रबीच भिडियो वार्ता- प्रधानमन्त्री ओली सहभागी हुने
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आइतबार भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । सो वार्तामा प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यक्रम छ ।
नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुने भिडियो कन्फरेन्सलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।
भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेपछि नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।
सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्