माक्स कालोबजारी गर्नेहरुको दोहोलो काढ्दै प्रहरी : तीनदिनमा भेटियो ११ लाख थान माक्स
कोरोना भाइरस संक्रमणबाट बच्न प्रभावकारी साधनका रुपमा रहेको माक्सको कालोबजारी व्यापक बढेपछि प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा तीन दिनमा ११ लाख थान माक्र्स बरामद गर्यो । बजारमा ५ देखि १० रुपैयाँमा पाइने माक्स ५०/६० रुपैयाँमा विक्री गर्न थालिएपछि प्रहरीले अभियान चलाएको हो ।
शनिबारदेखि सोमबार दिउँसोसम्म प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान माक्स बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० विष्णुदेवी करिब ८ लाख ४९ हजार ६ सय थान सर्जिकल माक्स बरामद भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी बृत्त थानकोट प्रभाग बलम्वुको संयुक्त प्रहरी टोलीले विष्णुदेवी–१० मा रहेको रोहित श्रेष्ठको घरको गोदाममा छापा मारेको थियो । सो गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासन र प्रहरीले गोदाम शिलबन्दी गरेको थियो । प्रहरीले यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान माक्स बरामद गरेको थियो । शनिबारयता काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा लुकाएर राखेको १० लाख ९५ हजार थान माक्स बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ८ लाख ४९ हजार थान माक्स बरामद भएको बताउनुभयो । डिएसपी श्रेष्ठका अनुसार माक्ससहित केही व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२३ घर भएका ३४ वर्षीय सुरज गोयल, भारतको राजस्थान घर भई बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।
पक्राउ परेका विरूद्ध कालोवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने नियतले डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।
तीन दिनमा यति ठूलो परिणाममा माक्स बरामद भएपछि सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । तर यसका लागि कानुनी झमेला भने छ । मुद्दाको टुंगो नगिसकेपछि जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।
तर महान्यायाधिवक्ता अग्नि खरेलले यसलाई सच्याउन पहल थाल्नुभएको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र सम्वद्ध अधिकारीहरुलाई छलफलमा बोलाएका उहाँले बरामद भएका मास्क तत्काल बजारमा पठाउन उपायको खोजीबारे परामर्श भैसकेको छ ।
कालोबजारी गरेको अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी महान्यायाधिवक्ता खरेलले गरिरहेको समाचार स्रोतले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्