कर्पोरेट/पर्यटन

मिथिलाञ्चलमा फागुको रौनकता

मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ । जातिपाति, छुवाछूत, सानो, ठूलो, धनी र गरीबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गीत तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो ।



मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यताअनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।

फागु पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको पूजाबाट शुरू हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ । वसन्तोत्सवले हाम्रो विवनमा यौवन भरी प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रशन्न तुल्याउँछ । प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न सक्ने क्षमता छ । अतःमानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशमा एउटी सुन्दरी बालिकालाई छानेर उक्त बालिकालाई रानीको सङ्ज्ञा दिई वसन्त पर्व मनाउने चलन पनि पाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी नाउँबाट पुकार्न थालेको पाइन्छ ।

फाल्गुने पूर्णिमायां त दुग्धा भवति होलिका ।
पश्चात् प्रात : समुथ्याय होलिकात्सव : ।।

अर्थात् फागुन महीनाको पूर्णिमा तिथिमा होलिका दहन गरिन्छ , त्यसको अर्को दिन बिहानै उठेर होलिकात्सव मनाइन्छ । होलिका वसन्त आरम्भको बेलाका एक लोकप्रिय पर्व हो । फागुलाई मैथिली भाषामा फगुवा अथवा होरी भनिन्छ । मिथिलाञ्चलमा यो पर्व अत्यन्त लोकप्रिय मानिन्छ । यो पर्व प्राचीनकालदेखि नै मनाइँदै आएको तथ्यहरू पाइन्छ ।

बराह पुराणमा फागुन पूर्णिमालाई पटवास विनाशनी भनिएको छ । पटवास भनेको अबिर जस्तो च्रुर्णलाई भनिन्छ । पौराणिक कथनअनुसार यस उत्सवको आरम्भ रघुराजाबाट भएको हो । यो पर्व बाल स्वास्थ्य तथा नारी सौभाग्यसित पनि सम्बन्धित रहेको छ ।

सत्य तथा ज्ञानको प्रतीक प्रह्लाद र विज्ञान तथा भौतिकवादी हिरण्यकश्यपुको कथासँग यो पर्वलाई आध्यात्मवाद र भौतिकवादको द्वन्द्वका रूप पनि लिइन्छ । कृष्णले आफूलाई दूध पिलाउने पुतना राक्षसीको ‘बध’ गरेपछि गोप गोपिनीले रास लीलाका साथ रङ्ग खेलेर उत्सव मनाएको तथ्य पनि पाइन्छ ।

ब्रह्माले सृष्टिको शुभारम्भ पनि फागु पर्व मनाउने वसन्त ऋतुमा नै गरेको कुरा ‘ चेत्रेमासे जगत् ब्रह्म ससर्ज प्रथमे हनि’ श्लोकबाट प्रमाणित हुन्छ । भगवान् विष्णुलेले पनि सत्ययुगमा यसै दिन मत्स्यावतार धारण गरेको शास्त्रमा उल्लेख छ ।

प्रतापी राजा रघुको राज्यमा अमनचैन सुखशान्ति हुँदाहुँदै त्यहाँ कुनै ठाउँमा ढुण्ढी नामकी राजक्षीले बालबालिकाको अपहरण दुःख दिएको हुँदा चिन्तित राजाले राक्षसीलाई निकाल्ने प्रयास गरे पनि सफल नभएपछि वशिष्ठ ऋषिसँग अत्याचारबाट मुक्त हुने सुझाव लिइ अग्निकुण्ड बनाई प्रचण्ड अग्नि जलाई सो रापले नभेट्ने ठाउँमा बालबच्चा र ठूलाको उल्लासपूर्ण भेला र नाचगान गराइ अश्लील गालीगलौज गर्दै लखेट्दै गर्दा राक्षसी थकाइले मर्दा उनको शरीर जलाई खरानी उडाइ टीका लगाइएको तथ्य पनि पाइन्छ । नराम्रो प्रवृत्ति उन्मूलनको खुशीयालीमा वर्ष दिनमा एकपटक फागुपूर्णिमा तिथि अबिर आदि रङ्ग र फूलका रसहरू खेल्दै परस्परमा मनोरञ्जन गर्ने होली उत्सव मनाएको विश्वाससमेत रहेको छ ।

कुनै कालखण्डको फागुन तिथिमा महादेवले कामदेवलाई नाश गरेको खुशियालीका सन्दर्भमा यो पर्वको विशोषता र शुरूआत भएको मदन र कामदेवको भावलाई पूर्वीय र पाश्चात्य विद्वान वात्स्यायन र फ्रायडका विचारमा एकरूपता भएको पुष्टि विश्वप्रसिद्ध छ, दुवैको निष्कर्षमा रङ्ग र पानीबाहेक यो पर्वलाई रति र कामको पूजन पर्व मदनोत्सव पनि भनिएको पाइन्छ ।

श्रमद् भागवत् पुराणमा पुतना राक्षसीले बच्चाबच्चीलाई दूध चुसाउने निहुँमा दुःख दिएको , मारेको र कृष्णलाई समेत त्यसै गर्न लाग्दा कृष्णले पृतनालाई नै मारिदिएको र नगरवासीले राक्षसीको लाश जलाएको खरानीले नै होली खेलेको, गोपिनीले रङ्गको उत्सव मनाएका र कृष्णले शृङ्गार रसकी राधालगायत अन्य सहेली साथीसँग फागु खेलेको कथा पनि पाइन्छ । साथै हिमालमा शिव पार्वतीले फागु उत्सव मनाएका, लङ्का युद्धमा रावणसँग विजयपछि अयोध्यावासीसँग राजा रामले खुशीयालीका रूपमा फागु खेलेका आदि कथाले असत्यमा सत्यमा सत्यको, अधर्ममा धर्मको, कुकर्ममा सुकर्मको जितको परिणाम उल्लेख छ ।

फाल्गुने पौर्णमासी च सदा बालविकासनी ।
ज्ञेया फाल्गुनिका सा ज्ञेया लोकविभूतये ।।

अर्थात् फागुपूर्णिमा पर्व बालक्रिडा र बालविकासका लागि मनाइन्छ । फागु दुनियाँलाई धन्यधान्यबाट समृद्ध गरी मनोरञ्जक क्रिडाका लागि प्रसिद्ध छ । यसैगरी, बराह पुराणमा पनि फागुलाई फाल्गुनिका धनी यस पर्वमा अबिर जस्तो चूर्ण प्रयोग गरी क्रिडा गरेमा सबैको भलो हुने कुरा उल्लेख छ ।

श्री हर्षचरित संस्कृतको रत्नावली नाटिकामा पनि कोशाम्बी नगरीमा अबिर आदि रङ्ग परपस्परमा छयाप्दै फागु खेलेको चित्रण पाइन्छ । आयुर्वेद शास्त्रमा केशरी, अबिर जस्ता प्राकृतिक रङ्गको प्रयोगले जीवनमा खुशी गरी छालालाई सफा गर्ने कुराको सङ्केत पाइन्छ । कृषि शास्त्रका दृष्टिले पनि होलक लातिती होलिका अर्थात् केराउ, चना आदिका बालालाई भुट्ने, पोल्ने कामलाई होलक भनिन्छ र चना जौ, गहुँ आदि नयाँ अन्न अग्निलाई भोग लगाउने समय जुन पर्वले ल्याउँछ , त्यो पर्व नै होलिका हो ।

फागुको समयमा पाकेका चना आदि प्राणपोषक नयाँ अन्नलाई अग्नि देवतालाई चढाएर मात्र घरमा भित्र्याउने परम्परा विशेषरूपमा मिथिलाञ्चलमा रही आएको छ । होली सबै प्रकारका राग, द्वेषरहित सद्भाव र समताको पर्व हो भन्ने कुरा ‘होलान्ति समतापर्वः’ भन्ने श्लोकबाट पुष्टि हुन्छ ।

पौराणिक कथाअनुसार, प्रह्लादकी फुपू होलिकालाई भस्म नहुने वरदान प्राप्त भएकाले आफ्ना दाइ हिरण्यकश्यपुको आज्ञाअनुसार उनी प्रह्लादलाई मानृ उसलाई काखमा राखी आगोमा पस्दा मरिन् तर ईश्वरयुक्त प्रह्लादलाई केही नभएको सम्झनामा होलिकालाई जलाएर होलिकात्सव मनाइने गरिएको पाइन्छ ।

समयसँगै सभ्यता, आदर्श, नैतिकता, अश्लीलता र आनन्दका सौन्दर्य बोधक मापक र तत्व फेरिँदै मिथिलाञ्चलका स्रष्टाले वासन्ती बोधका कामशक्त र शृङ्गार सिर्जनका साथै सामाजिक जीवनका विकृति र विसङ्गतिलाई व्यङ्ग्य र हास्यका माध्यमबाट उजागर गर्ने चलन पनि दखिन्छ ।

साहित्यकार डा धीरेश्वर झा धीरेन्द्रले यस प्रसङ्गमा उल्लेख गर्नुभएको फागुको गीतले ‘ई देहिया होइहे छार, आनन्द करह, आनन्द करह (यो शरीर खरानी हुनेछ, आनन्द गर, आनन्द गर) होलिका दहनका दिनको खरानीको सेतो रङ्ग र त्यसपछिको रङ्ग अबिरको रङ्गमयताले जीवनको नश्वरता र त्यसले वर्तमानलाई नै मानवीय प्रेमको सन्देश दिइएको पाइन्छ ।

होली पर्वमा विभिन्न धर्मावलम्बी सहभागी भएर यसको सांस्कृतिक पक्षलाई सबल र सशक्त बनाउँदै आएको देखिन्छ । यहाँसम्म की अचेल हिन्दू र मुस्लिमसँगै मिलेर अबिर आपसमा दलेर, अङ्कमाल गरेर फागुको सद्भावना र शुभेच्छा सम्प्रेषित गरी पर्वमा सहभागी हुन्छन् ।

यसकारण पनि मिथिलाञ्चलमा अहिले फागुका गीतहरू यसरी प्रतिध्वनित भइरहेका छन्-

जनकपुर रङ्गमहल होरी
किनकाके हाथ कनक पिचकारी
किनकाके हाथ अबीर झोरी
रामके हाथ कनक पिचकारी
लक्ष्मण हाथ अबिर झोरी
जनकपुर रङ्गमहल होरी ।।

सम्बन्धित खबर

Back to top button