जन सरोकार

प्रदेश २ मा लकडाउन उल्लघन, सप्तरीमा सेना परिचालन, निर्देशन पालना गर्न मुख्यमन्त्रीको अपील

सरकारले मंगलबार विहानदेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउनको निर्णय प्रदेश २ का विभिन्न जिल्लामा उल्लंघन भएपछि प्रहरीले कफ्र्यू लगाउने चेतावनी दिएको छ ।

कोरोना संक्रमणबाट बच्न घरमै बस्नुपर्ने सरकारी निर्णयलाई अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ ।बिहानैदेखि घरबाट बाहिरने क्रम बढेको छ’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले अवस्था यस्तै रहे हामी कर्फ्यू लगाएर भए पनि सबैलाई घरमा बसाउँने बताउनुभएको छ ।

सप्तरीमा त नेपाली सेना सडकमा आएको छ । सप्तरीमा लकडाउन सफल पार्न प्रहरीले नसकेपछि सेना सडकमा उत्रिएको हो ।

सरकारले गरेको लकडाउनको निर्णय कार्यान्वयन गराउन सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनार्दन कट्टेलले जानकारी दिनुभयो ।सर्वसाधारण घर बाहिर आउँदा उनीहरुलाई सम्झाएर घरभित्रै बस्न सुरक्षाकर्मीले आग्रह गरिरहेको छ ।

महोत्तरी, सर्लाही जिल्लामा पनि फाटफुट मान्छेहरु बाहिर निस्किरहेका छन् । रौतहट जिल्लामा लकडाउनको पालना गरिएको छ । न्यून मान्छेहरु बाहिर निस्केका छन् । बारा र पर्सामा भने लक डाउनको पूर्ण पालना हुन सकेको छैन । सर्वसाधारण अझै बाहिर आइरहेका छन् ।

जनकपुरधाममा भीड पातलिए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन् । फाटफुट पसलहरु पनि सञ्चालनमै छन् । मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन् । जनकपुरधाममा बिहानैदेखि मोटरसाइकल गुडाउन बन्द नभएपछि प्रशासनले यसतर्फ चासो लिएको छ ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरशः पालना गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न सङ्घीय सरकारले जारी गरेको निर्देशनहरुमा प्रदेश सरकारको पूर्ण समर्थन रहेको र तीनवटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार रहेको उल्लेख गरिएको छ । उहाँले प्रदेशमा २५० आइसोलेशन श्यया तयारी अवस्थामा रहेको र थप आइसोलेशन श्ययाको लागि गृहकार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

विपद व्यवपस्थापन कोषमार्फत प्रत्येक जिल्लाको विपद् व्यवस्थापन कोषलाई रु ५०/५० लाख, नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई रु २० लाख, राष्ट्रिय अनुसन्धान आयोग प्रादेशिक कार्यालयलाई रु पाँच लाख उपलब्ध गराइएको छ ।

उहाँले सामाजिक विकास मन्त्रालयमार्फत कोरोनासम्बन्धी उपचार र रोकथामका लागि प्रादेशिक अस्पताललाई रु १२ लाख, जिल्ला अस्पतालहरुलाई रु पाँच÷पाँच लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधि र व्यक्तिगत उपचार उपकरणका लागि रु १० लाख, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई रु पाँच लाख, जनचेतनामूलक प्रचारप्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई रु पाँच लाख, मन्त्रालयमार्फत नीतिगत खर्चका लागि रु १० लाख, सरोकारवालालाई सचेतनामूलक अभियानका लागि रु १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि रु १० लाख, एकीकृत अनुगमनको लागि रु पाँच लाख, एम्बुलेन्स सेवाको लागि रु तीन लाख छुट्याइएको जानकारी गराउनु भएको छ । यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परेको खण्डमा प्रदेश सरकार तयारी अवस्थामा रहेको समेत जानकारी भएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारीसँग लड्न विभिन्न तयारीका कार्यहरु गरेको र उपकरणहरुको अभाव रहेको अवस्थामा यस महामारीविरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण, मास्क, थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाइदिन सङ्घीय सरकारसँग माग गर्नु भएको छ ।
–––

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.