कर्णालीप्रदेश

४१७ घर परिवारले छत्तीस वर्षपछि जग्गाधनी पुर्जा पाउँदै

राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ ।

विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको हो ।

आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ ।

आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिनुभयो ।

आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो ।

विगतमा बनेका भूमिसम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको हो । “निवेदनमाथि छानबिन, मिसिल भिडाउने, नापी र मालपोतमा रुजु गर्नाका साथै निवेदनमा छुटेका कागजात माग गरी कित्ताकाटको प्रक्रिया सुरु गरेका छौँ” ।

आयोगका जिल्ला अध्यक्ष पौड्यालले भन्नुभयो, “प्राविधिक टोलीले पुर्जा वितरणका लागि सबै तयारी गरिरहेको छ, अबको एक हप्ताभित्र पुर्जा वितरणको काम सुरु गर्ने गरी तयारी भइरहेको छ ।”

लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युत्लगायत सेवाबाट वञ्चित थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको आठ हजार १५५ रोपनी जग्गाको नक्साङ्कन गरिएको छ ।

सुर्खेतमा पाँच हजार ९९४ भूमिहीन घरपरिवारको लगत सङ्कलन गरिएकामा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.