एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : ‘प्रचण्ड’
जेनजी आन्दोलन र फागुन २१ को निर्वाचनपछि पुराना राजनीतिक दलहरू कमजोर बनेको पृष्ठभूमिमा नेकपा (एमाले)ले वाम एकतामार्फत वर्तमान सरकार ढाल्ने चेतावनी दिइरहेका बेला नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको बताउनुभएको छ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले उहाँले राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि दुई दलबीच वैचारिक र राजनीतिक भिन्नता रहेको स्पष्ट पार्नुभयो।
नेपाली कम्युनिस्ट पार्टी भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको दाबी गर्नुभयो। उहाँले एमालेको कार्यशैली र आफ्नो पार्टीको राजनीतिक दृष्टिकोण फरक रहेको बताउनुभयो।
संयोजक दाहालले एमालेसँग पार्टी एकताको सम्भावनालाई तत्काल अस्वीकार गर्नुभयो। राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका विषयमा आवश्यकताअनुसार जुनसुकै दलसँग सहकार्य गर्न सकिने उहाँको भनाइ छ।
यद्यपि, पार्टी एकताका लागि इतिहास, राजनीतिक पृष्ठभूमि र वैचारिक भिन्नताबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो।
दाहालले तत्कालीन माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै माओवादी आन्दोलन समाप्त नभई रूपान्तरण भएको दाबी गर्नुभयो।
“माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो। यो विघटन नभई रूपान्तरण हो,” उहाँले भन्नुभयो। नामभन्दा काम महत्त्वपूर्ण भएकाले विभिन्न घटकका विचार र भावनालाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस र एमालेको गठबन्धनले देशमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने चेतावनी आफूहरूले पहिले नै दिएको दाहालले स्मरण गर्नुभयो।
सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गरिरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको उहाँको भनाइ थियो। उहाँले ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार चलाउने अभ्यासले संसदीय लोकतन्त्रमा प्रश्न उठाएको टिप्पणी गर्नुभयो।
कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठ्ने प्रश्न नयाँ नभएको उल्लेख गर्दै दाहालले २०४६ सालको जनआन्दोलनपछि पनि यस्तै निराशाजनक धारणा व्यक्त हुने गरेको बताउनुभयो। आलोचनामा अल्झिनुभन्दा आफ्नो लक्ष्य र काममा केन्द्रित भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
नेकपाले राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले आजदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको जनाएको छ ।
आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक दाहालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अभियानमार्फत पार्टीका केन्द्रीय नेताको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ, जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ । महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ ।”




प्रतिक्रिया राख्नुहोस्