जन सरोकार

एयर अरेबियाबाट आउने दुईजना होम क्वारेन्टाइनमा

यही चैत ६ गते एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । उनीहरु होम क्वारेन्टाइनमा बसेका छन् ।

सो एयरलायन्सबाट आएकी उन्नाइस वर्षीया एक युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो ।सोही एयरवेजबाट सँगै फर्किएका नेपालीमध्ये मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका बस्ने ३२ वर्षीया युवती वैदेशिक रोजगारमा साइप्रसबाट कतार हुँदै नेपाल फर्किएपछि काठमाडौँ, चन्द्रागिरिमा आफ्नै दाजुका घरमा बसेकी छन् ।

उनी बुधबार टेकु अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य स्थिति सामान्य रहेकाले होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका–१२ बस्ने ४९ वर्षीयलाई वैदेशिक रोजगारीका लागि कतारमा हुँदै कतार प्रहरीले समातेर नेपाल फिर्ता पठाएपछि हेटौँडा घर आई बसेको र प्रहरीले सम्पर्क गरी बिहिबार बिहान हेटौँडा अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य सामान्य रहेकाले उनी पनि होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रहरीले निजलाई निगरानीमा राखेको र स्वास्थ्यमा खराबी आए तुरुन्तै उपचारका लागि हेटौँडामा तयारीमा राखिएको कोरोना भाइरस उपचार केन्द्रमा ल्याइने जानकारी दिइएको छ ।

यसैबीच लकडाउनको तेस्रो दिन हेटौँडामा मानिसलाई घरमै बस्न र सरकारको निर्देशन पालना गर्न प्रहरीले र हेटौँडा उपमहानगरपालिकाले माइकिङ गरिरहेका छन् । प्रहरीले नगरका ठाउँठाउँमा खटेर लकडाउन पालना गराउन कडाइ गरिरहेको छ ।

यसैगरी कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्ने उद्देश्यले हेटौँडा–४ श्रमिक माविको भवन र हेटौँडा –११ स्थित हेटौँडा एकेडेमीको भवनमा क्वारेन्टाइन बनाइएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

क्वारेन्टाइन स्थापनाका लागि पर्याप्त सामग्री उपलब्ध नभए पनि सङ्घीय सरकारले उपलब्ध गराएको सामग्री अहिले दुई क्वारेन्टाइन सञ्चालनका लागि वितरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख रमेश अधिकारीले बताउनुभयो ।

यसैगरी बाँकी तीन क्वारेन्टाइन सञ्चालनका लागि पनि तीन दिनभित्रै सामान खरीद गरी ल्याउन आवश्यक टोली पठाइसकिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरसको शङ्कास्पद बिरामीको रगत र स्वाब परीक्षण गर्न मकवानपुरका १० स्थानीय तहमा स्वास्थ्य जनशक्ति परिचालन गर्न पनि उपमहानगरपालिका, हेटौँडा अस्पताल र जिल्ला समन्वय समितिमार्फत तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.