विश्व समाचार

कोरोना : एकैदिन १४ सय बढीको मृत्यु, अमेरिकाले जित्यो चीनलाई, स्पेनमा चार नेपाली संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले युरोपेली मुलुक इटाली र स्पेनको स्थिति भयावह बन्दैगएको छ । विश्वभर अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघिसकेको छ भने मृत्यु हुनेको संख्या पनि २४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरको पछिल्लो रिपोर्ट अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको छ । यससँगै इटालीमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ ।

त्यस्तै स्पेनमा पनि बिहीबार एकैदिन ७१८ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । यससँगै स्पेनमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । बिहीबार स्पेनमा नयाँ संक्रमित पनि ८ हजारभन्दा बढी देखिएका छन् । स्पेनमा समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको छ ।

अन्य यूरोपेली मुलुकमा फ्रान्समा बिहीबार ३६५ जनाले ज्यान गएको छ । फ्रान्समा समग्र संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा पनि बिहीबार ११५ जना मानिसले ज्यान गुमाएका छन् । बेलायतमा पनि ११ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

त्यसै गरी चीनमा संक्रमण नियन्त्रणमा आउँदैगर्दा अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।

इटालीपछि सबैभन्दा बढी संक्रमण भएको स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् ।

संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताउँदै संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.