बिशेषराजनीति

“एकैदिनमा आकाश-पाताल गर्न सकिने रहेछ भन्ने अहिले सरकारमा बसेकाहरुले देखाइदिए”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जेनजी आन्दोलन’लाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यसविरुद्ध संसद्, सडक र निर्वाचनमार्फत सशक्त राजनीतिक प्रतिवाद गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गर्नुभएको छ।

संयोजक प्रचण्डले भन्नुभयो, एकै दिनमा आकाश पाताल गर्न सकिने रहेछ भन्ने यिनीहरुले नै देखाइदिए, हामी पनि काठमाडौंमा ५/७ लाख र हरेक जिल्ला सदरमुकाममा एकदेखि डेढ लाख मानिस एकसाथ उतार्ने हो भने सबै उल्टाउने सकिने दावी गर्दै वर्तमान सरकार जति लामो समय रहन्छ उति समस्या बढ्ने बताउनुभयो ।

सरकारले गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै जनताको असन्तुष्टिलाई राजनीतिक आन्दोलनमा रूपान्तरण गर्नुपर्ने सो धारणा राख्नुभएको हो।

शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा संयोजक प्रचण्डले वर्तमान सरकारविरुद्ध मात्र होइन, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती सिर्जना गर्ने शक्तिहरूविरुद्ध पनि संगठित संघर्ष आवश्यक रहेको बताउनुभयो।

संसद्, सडक र आगामी निर्वाचनलाई संघर्षका तीन प्रमुख माध्यमका रूपमा उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले आफ्नै राजनीतिक शैलीमा आन्दोलनलाई अघि बढाउने बताउनुभयो।

उहाँले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी आन्दोलन’लाई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका उपलब्धिविरुद्ध उभिएको प्रतिक्रान्तिकारी प्रयासका रूपमा चित्रण गर्दै उक्त आन्दोलनले अपेक्षित सफलता हासिल गर्न नसकेको दाबी गर्नुभयो।

यस्ता गतिविधिबाट लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढ्न सक्ने भएकाले त्यसको राजनीतिक प्रतिवादका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच अझ बलियो एकता आवश्यक रहेको उहाँको भनाइ थियो।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको संरक्षण, संविधानको रक्षा तथा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन साझा न्यूनतम कार्यक्रमका आधारमा वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र संयुक्त आन्दोलन अपरिहार्य रहेकोमा जोड दिनुभयो।

उहाँले भारतमा निर्वाचित तिब्बती धार्मिक नेता दलाई लामाको जन्मोत्सव मनाइएको विषयलाई पनि सामान्य घटनाका रूपमा लिन नहुने टिप्पणी गर्दै त्यसले नेपालको कूटनीतिक तथा भूराजनीतिक संवेदनशीलतासँग सम्बन्ध राख्ने संकेत गर्नुभयो।

सम्बोधनका क्रममा प्रचण्डले नयाँ पुस्तामा कम्युनिस्ट विचारधाराको वैचारिक प्रशिक्षणलाई निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गएको स्वीकार गर्नुभयो। सरकार गठन र सत्ता समीकरणमा अत्यधिक केन्द्रित हुँदा वैचारिक तथा संगठनात्मक पक्ष ओझेलमा परेको उहाँको आत्मसमीक्षा थियो।

उहाँले आफ्नो पार्टीको तत्कालीन प्राथमिकता सरकार गठन नभएको स्पष्ट पार्दै वर्तमान सरकार सञ्चालनको जिम्मेवारी नेपाली कांग्रेस र एमालेकै रहेको बताउनुभयो। यद्यपि बजेट निर्माणका क्रममा प्रदेश सरकारहरूमा कांग्रेस–एमालेबीच देखिएको मतभेदले राजनीतिक परिस्थिति फेरिएको र त्यसले आफ्नो पार्टीको भूमिका थप महत्वपूर्ण बनाएको उहाँको दाबी थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.