किम यो जोङद्वारा आणविक निःशस्त्रीकरण आग्रहको कडा आलोचना
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)ले कोरियाली प्रायद्वीपलाई आणविक हतियारमुक्त बनाउन गरेको आग्रहलाई “मूर्खतापूर्ण र अविवेकी सपना” भन्दै कडा आलोचना गरेकी छन्।
गत साता सम्पन्न आसियानको वार्षिक क्षेत्रीय सम्मेलनमा सदस्य राष्ट्रहरूले उत्तर कोरियाले निरन्तर आणविक हतियार विकास गरिरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आणविक हतियारमुक्त कोरियाली प्रायद्वीपमार्फत दीगो शान्ति र स्थायित्व कायम गर्न संवाद आवश्यक रहेकोमा जोड दिएका थिए।
उत्तर कोरियाले भने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिबन्धहरूका बाबजुद आफ्नो आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्ने अधिकार रहेको दाबी गर्दै आएको छ। सन् २०२३ मा उसले आफ्नो आणविक राष्ट्रको हैसियतलाई संविधानमै समावेश गरेको थियो।
राज्य सञ्चारमाध्यम केसीएनएले प्रकाशित गरेको वक्तव्यमा किम यो जोङले आसियानले अमेरिकाले उठाउँदै आएको “आणविक निःशस्त्रीकरण” को एजेन्डालाई समर्थन गर्दै उत्तर कोरियाको संविधानलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले भनिन्, “आणविक निःशस्त्रीकरणको अवधारणा व्यवहारिक र सैद्धान्तिक दुवै रूपमा अर्थहीन भइसकेको अवस्थामा त्यसैमा अडिग रहनु रणनीतिक सोच र तर्कको असफलता तथा मूर्खतापूर्ण कल्पना मात्र हो।”
किमले आसियानलाई अमेरिकाको ‘भाडाको मुखपत्र’ बन्न नदिन पनि चेतावनी दिएकी छन्। यसअघि जुन महिनामा पनि किम यो जोङले उत्तर कोरियाको आणविक कार्यक्रम ‘फर्किने कुनै बाटो नभएको नीति’ भएको बताएकी थिइन्।
उत्तर कोरियाले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ता आणविक निःशस्त्रीकरण र प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि विफल भएको थियो। त्यसयता प्योङयाङले आफूलाई “अपरिवर्तनीय आणविक राष्ट्र” भएको दाबी गर्दै आएको छ।




प्रतिक्रिया राख्नुहोस्