कर्पोरेट/पर्यटन

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन संसद्बाट अनुमोदन गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा सोमबार आयोजित कार्यक्रममा उहाँले गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि सो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको बताउँदै ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले नाथमको प्रमाणीकरणका लागि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको प्रत्याभूति लिने प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन, अन्तर्राष्ट्रिय गुणस्तरका लागि आइएसओ मापदण्ड प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गर्न नाथम सञ्चालक समितिलगायत कार्यकारी निर्देशक र सबै कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

“अहिलेको समयमा शैक्षिक संस्था केवल विद्यार्थी उत्पादन गर्ने थलोको रूपमा मात्र सीमित नराखी नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोका रूपमा विकास गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि अनुसन्धानका गातिविधि बढाउन र इन्क्युबेसन सेन्टरलाई बलियो रूपमा स्थापित गर्न पनि म सञ्चालक समिति, कार्यकारी निर्देशक र कर्मचारीलाई निर्देशन गर्दछु ।”

रिर्सच र इन्क्युबेसनबाट निस्केका ज्ञान देशको पर्यटनलाई सही दिशा दिन र पर्यटन उद्योगको विकासका लागि अत्यावश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले देश विदेशका चर्चित विश्वविद्यालय र संस्थासँग स्टुडेण्ट फ्याकल्टी एक्सचेन्जलाई संस्थागत गर्दै प्रशिक्षक र विद्यार्थीलाई नयाँ ज्ञान र अवसर प्रदान गरी विश्वव्यापीकरणका फाइदा लिने दिशामा अघि बढ्न पनि आग्रह गर्नुभयो ।

“नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ, देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्ति देशका सबै क्षेत्रमा विकास गर्न एकदम जरुरी भइसकेको छ । त्यसका लागि नेपाल सरकारका तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

उहाँले संस्थामा विदेशी विद्यार्थी आएर पढ्न लालायित हुने वातावरण निर्माणका पनि पहल गर्न सञ्चालक समितिलाई निर्देशन दिँदै त्यसका लागि सुरुमा सार्क र विमस्टेकलाई लक्षित गरी त्यहाँका विद्यार्थीलाई आकर्षण गर्ने कार्यतर्फ लाग्नु उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.