जन सरोकार

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ ।

भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरी निर्माण सुरु भएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको हो ।

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रतक्ष्य अनुगमन गरी मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताउनुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो ।

सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो ।

अन्तिम पटक भन्दै गत फागुन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी म्याद थप गरे पनि कार्य अगाडि नबढेको र निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ ।

सडक विस्तारको काम सुरु भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रेसमेत भत्किएको छ । ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धुलाम्य र खल्डैखाल्डो रहेको छ । रु २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको यो सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा रु २८ करोडमा झरेको र उक्त रकम कन्स्ट्रक्सन प्राप्तसमेत गरिसकेको जनाएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले सडक निर्माण सुरु भएको नौ वर्ष हुँदा पनि अझै निर्माण सम्पन्न नगर्दा पर्यटन व्यवसाय धरापमा परेको बताउनुभयो । उहाँले कोरोना पछि लयमा फर्कँदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अवस्थाले धरापमा परेको भन्दै वर्षामा हिलो र हिउँदमा धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती बेहोर्नुपरेको बताउनुभयो ।

उहाँले सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्द गर्न निकालेको सूचना सकारात्मक रहेको बताउनुभयो । चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनुभयो । स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक सडक बन्द गराएर सडक निर्माण गर्न दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै दबाब दिनेलाई धम्क्याउने अटेर गर्ने गरेको बताउनुभयो ।

यसअघि पनि नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ का वडाध्यक्षहरुले असारमा तीनदिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए ।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बीचबीचमा रुख कटान, विद्युत्को पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाइ भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नुभयो । उहाँले मन्त्री श्रेष्ठसँग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरि पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वीकार्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.