कालो कोरोनाले बिथोलेको सेतो हिउँ र साकुराको दुर्लभ मिलन
बिसु भण्डारी, टोकियो
झण्डै ३२ वर्षपछि मार्च महिनामा पनि मध्य टोकियोमा हिउँ थुप्रियो । साकुरा फुल्ने सिजन भएकाले सेता साकुराका फूलहरुमाथि हिउँ परिरहेको थियो तर यो अलौकिक र रोमाञ्चक क्षणको अवलोकनमा कालो कोरोना अबरोध बन्यो ।
कोरोना संक्रमणका कारण टोकियो महानगरपालिकाले मार्च २८ र २९ तारिक नगरबासीहरुलाई घरभित्रै बस्न अनुरोध गरेको थियो र यही बेमौसमी हिमपात भयो ।
मध्य टोकियोको अत्यन्त ब्यस्त बार्ड, सिबुया रेल स्टेसन अगाडी पनि हिउँ परिरहेको थियो । कुनै पनि साथीलाई भेटनु पर्दा हाचीको माए (हाचिको अगाड़ी) बसी कुर्ने टोकियोबासीहरुको चलन नै हो । टोकियो महानगरपालिकाले गरेको अनुरोध र २९ तारिकको हिमपातले गर्दा पनि प्रायःजसो मान्छेले भरिने हाचीको माए पनि सुनसान थियो ।
यता सिन्जुकु स्टेसन अगाडी पनि हिउँ थुप्रिसकेको थियो । जेआरका कर्मचारीले स्टेसन बरिपरिका हिउँ सफ़ा गरिरहेका थिए ।
ह्योगोबाट आएकी एक महिलालाई प्रश्न गर्दा उनी काम खोज्ने सिलसिलामा कम्पनीको जानकारी आदान प्रदान कार्यक्रममा सहभागी हुन आएको तर बेमौसममा हिउँ परेको देख्दा दन्ग परेको बताइन ।
२९ तारिक होन्शुको दक्षिणी समुन्द्री भाग हुँदै आएको दक्षिणी तटीय चक्रवातको प्रभावले गर्दा खान्तो क्षेत्र (टोकियो बरिपरिका पिर्फेक्चर)मा हिमपात भयो । नाकायामा केबा (घोडा रेसं पनि बिना दर्शक सन्चालन गर्ने योजना थियो तर हिमपातले गर्दा कार्यक्रम नै रद्द गर्नुपर्ने स्थिति आयो ।
उता उएनो पार्कमा साकुरा र हिउँ सगै हेर्न पाउदा ख़ुशी महसूस गर्ने मानिसहरु पनि भेटिए । हुन पनि साकुरा फुल्ने मौसममा हिमपात नहुने हुनाले साकुरा र हिउँ एकै साथ हेर्न सितिमिति पाइदैन । र्तपनि साकुरा हेर्ने ठाउँहरुमध्य चिरपरिचित नाम मेगुरो गाबा (खोला) बरिपरि पनि खासै साकुरा हेर्न आउनेहरु थिएनन् । आसाकुसाको नाकामिसे दोओरी (भित्री बाटो)मा पनि मानिसहरु त्यति देखिएका थिएनन् ।
बेमौसमी हिमपात र टोकियो महानगरपालिकाको घरै बस्नुहोला भन्ने अनुरोधले गर्दा २९ तारिक शहरका सम्पूर्ण पर्यटकीय स्थलहरु सुनसान रहे । तर अब आउने वर्षहरुमा हेर्न पाइने हो की हैन थाहा छैन हिउ र साकुराको जोडी हेर्न । दुबै सेता हेर्दा मन पनि हँसिलो भएर आउने ।
यदि कालो कोरोना भाईरस नभइदिएको भए सेतो साकुरासंग सेतो हिउँको मिलनले टोकियो कति खुसी हुने थियो होला ? यो कल्पनामात्र गर्दा पनि मन उद्वेलित भएर आउँछ । तापनि स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण हुने हुनाले सेल्फ लक डाउन गरी आफू र आफू बरिपरिकालाई जोगाऔ ।
साकुरा र हिउँको मिलन त बाँचिराखे अर्को वर्ष हेरौला हैन र !
प्रतिक्रिया राख्नुहोस्