विश्व समाचार

नियन्त्रण बाहिर कोरोना भाइरस- ३५ हजार बढीको मृत्यु साँढे सात लाख संक्रमित

कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबार साँझसम्ममा ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । त्यसै गरी संक्रमितको संख्या साँढे सात लाखको हाराहारीमा पुगेको छ ।

विभिन्न मुलुकबाट एएफपीलाई उपलब्ध तथ्याङ्क अनुसार सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ । दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ । इटलीमा अहिलेसम्म १० हजार ७७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६८९ व्यक्ति सङ्क्रमित भएका छन् ।

स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा ८१ हजार ४७० सङ्क्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ । चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ ।

जर्मनीमा सङ्क्रमित ६३ हजार ७९ पुष्टि भएको छ भने ५४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५२२ व्यक्तिमा सङ्क्रमण, एक हजार २२८ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ । दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ५० सङ्क्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना सङ्क्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।

जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या

जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्ट नजिकैको होखेमस्थित रेलवे ट्राकमा फेला परेको थियो ।

थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत हुनुुहुन्थ्यो । कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उहाँ केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताउनु भएको छ ।

प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।

बौफियरले राज्यमन्त्री थोमस साफरको मृत्युका बारेमा भन्नुभयो, “साफरले जहिल्यै आममानिसका ठूल्ठूला अपेक्षा पूरा गर्न सम्भव होला र भन्दै चिन्ता व्यक्त गर्नु हुन्थ्यो । मेरो अनुमानमा उहाँलाई तिनै चिन्ताले धेरै सतायो, र त्यसबाट मुक्त हुने कुनै उपाय देख्नु भएन । उहाँ निकै चिन्तित हुनुहुन्थ्यो र हामीलाई छाडेर जानुभयो ।”

कोरोनाभाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।

साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री हुनुहुन्थ्यो ।

जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ ।

सम्बन्धित खबर

Back to top button