विश्व समाचार

क्यास्पियन सागरमा जहाज आक्रमणपछि इरान आक्रोशित, युक्रेनलाई कडा चेतावनी

इरानले क्यास्पियन सागरमा आफ्ना एक व्यापारिक जहाजमाथि भएको आक्रमणका लागि युक्रेनलाई जिम्मेवार ठहर गर्दै त्यसको कडा प्रतिवाद गरेको छ।

शनिबार बिहान भएको उक्त आक्रमणमा एक नाविकको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको इरानले जनाएको छ। तेहरानले यस घटनालाई “शत्रुतापूर्ण र आपराधिक कार्य” भन्दै यसको जवाफ दिने चेतावनीसमेत दिएको छ।

इरानी सरकारी समाचार संस्था आईआरएनए का अनुसार विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आक्रमणपछि जहाजमा विस्फोट भएको, जसका कारण एक नाविकको मृत्यु र अर्का एक जना घाइते भएको उल्लेख गरिएको छ।

यो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले शनिबार सामाजिक सञ्जालमार्फत युक्रेनी सेनाले क्यास्पियन सागर क्षेत्रमा लामो दूरीका आक्रमण गरी इरानसँग सम्बन्धित सैन्य सामग्री ओसारपसारमा प्रयोग भएका जहाज तथा एउटा युद्धपोतलाई निशाना बनाएको दाबी गरेपछि आएको हो।

जेलेन्स्कीले युक्रेनी सेनाले “क्यास्पियन सागरमा निकै प्रभावकारी लामो दूरीका आक्रमण” गरेको उल्लेख गर्दै इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरू लक्ष्य बनाइएको बताएका छन्।

युक्रेनको सुरक्षा निकाय एसबीयूले पनि टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेका र इरान तथा रुसबीच सैन्य सामग्री ढुवानीका लागि प्रयोग हुँदै आएका कार्गो जहाजहरूमा ड्रोन आक्रमण गरिएको जनाएको छ।

यता इरानले भने आफू रुस–युक्रेन युद्धमा कुनै पक्षको रूपमा संलग्न नरहेको दाबी गरेको छ। विदेश मन्त्रालयले इरानले उक्त युद्धमा प्रत्यक्ष हस्तक्षेप नगरेको दोहोर्‍याउँदै आफ्नो व्यापारिक जहाजमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ।

घटनापछि इरानले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूत (चार्ज द’अफेयर) लाई विदेश मन्त्रालयमा बोलाएर औपचारिक विरोध जनाएको छ।

त्यसैगरी इरानी विदेशमन्त्री अब्बास अराघची ले युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालास सँग टेलिफोन वार्ता गर्दै उक्त घटनाप्रति युरोपेली संघ र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट कडा प्रतिक्रिया आउनुपर्ने माग गरेका छन्।

रुस–युक्रेन युद्ध तेस्रो वर्षमा प्रवेश गरिसकेको अवस्थामा क्यास्पियन सागर क्षेत्रमा भएको यो घटना युद्धको प्रभाव र तनाव अब युरोपको सीमाभन्दा बाहिर मध्य एसिया र पश्चिम एसियासम्म फैलिँदै गएको संकेतका रूपमा हेरिएको छ।

इरान र रुसबीच बढ्दो सैन्य सहकार्य तथा त्यसलाई लक्षित युक्रेनका आक्रमणहरूले क्षेत्रीय तनाव अझ चर्किने सम्भावना विश्लेषकहरूले औँल्याएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.