क्रिकेटखेल

टी-२० मा नेपालको छैठौं उच्च स्कोर, पिएनजीलाई २०४ रनको लक्ष्य

काठमाडौंमा जारी त्रिदेशीय टी-२० प्रतियोगिताको तेस्रो खेलमा नेपालले उच्च स्कोर बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पपुवाा न्यूगिनीलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय पारीको मद्दतले २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको हो । ती २० मा नेपालको यो छैठौं उच्चस्कोर हो ।

नेपालका लागि ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हान्नुभयो । रोहित पौडेलले ४१ रन बनाउनुभयो । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाउनुभयो । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्नुभएको हो । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट हुनुभयो ।

बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिनुभयो ।

नेपाल यस खेलमा पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । यसअघि लगातार दुई खेल जितेको नेपाल चार अंक सहित शीर्षस्थानमा छ ।

आज पीएजीलाई हराएमा नेपाल ६ अंक जोड्दै फाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार दुई खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन ।

मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button