राजनीति

अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो नाजुक नभए पनि भोलि समस्या आउनसक्नेतर्फ सचेत गराउनुभएको छ ।

बिहिबार रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले आर्थिक अवस्थामा नेपालको स्थिति श्रीलंकाको जस्तो डरलाग्दो स्थिति नभए पनि भोलि अप्ठ्यारो स्थिति आउनसक्ने भएकाले अहिले नै समाधानको लागि पहल सुरु भैसकेको पनि जानकारी दिनुभयो ।

त्यस क्रममा गठबन्धन आवश्यकताले जन्मिएको र त्यो आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पार्नुभएको छ ।

“गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ”–उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।”

उहाँले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भन्नुभयो “प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।”

युद्धबाट शान्तिमा आउने प्रक्रियाको एउटा नेतृत्वको हैसियतले पनि आफूले जनयुद्धको कालमा पनि नेपाली प्रेसले आग्रह र पूर्वाग्रह नराखेको बताउँदै अहिले अरु थुप्रै समस्या भए पनि प्रेस व्यवस्थित हुँदै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो प्रेसले आफ्नो दायित्व पूरा गरेकै देखिन्छ । शान्तिलाई प्रवद्र्धन गर्ने कुरामा, आर्थिक दिशामा लैजाने कुरामा प्रेसको महत्वपूर्ण भूमिका छ । नेपालको समृद्धिको यात्रामा प्रेसको भूमिका राम्रो छ । आगामी दिनमा अझै सशक्त भूमिका खेलोस ।

देशमा ठूला–ठूला परिवर्तन भए पनि जनताको जीवनस्तरमा कतिको परिवर्तन भयो भन्ने कुरा महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले सिंहदरबारको अधिकार गाउँमा पुगेको भए पनि जनताले यसको अनुभुति गर्न पाए कि पाएनन् त्यो हेर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.