राजनीति

सरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामु देखिएका अहिलेका सबैखाले चुनौतीको समाधान गरिने विश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड

रिपोर्टर्स क्लब नेपालको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेरो यो कार्यकालको कुरा गर्दा म सुशासन, सामाजिक न्याय र समृद्धिको सपना बोकेर जनताको अगाडि खडा छु, सरकारलाई पूर्णता दिएको छु, मूलभूत रूपमा सरकारले पूर्णता पाएको छ, अब विकासका कामले गति लिनुपर्छ ।”

प्रधानमन्त्री दाहालले देश अहिले आर्थिकरूपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै देशमा सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको एक सय दिन पुगेको अनुभव सुनाउँदै भन्नुभयो, “मैले पहिलोपटक क्याबिनेट बस्दा अर्थतन्त्रको सुधारको कुरा गरेको थिएँ, जनताले लिने सेवामा पनि सास्ती घटाउने कुरा गरेको थिएँ, अहिले ती कुरा हेर्दा सुधार भएको अनुभव छ, सुधार गर्न सकिन्छ भन्ने विश्वास बढेको छ ।”

विप्रेषणको स्थितिमा गुणात्मक सुधार गर्नुका साथै राजस्व सङ्कलनमा पनि सुधार गर्ने र विदेशी सञ्चिति अझै सुधार गर्ने बताउँदै उहाँले आफूले प्रधानमन्त्रीको हैसियतमा अर्थ मन्त्रालय र राष्ट्र बैंकका गभर्नरसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकका सामु समस्या भए पनि अब सबैले मिलेर समाधान गरिने विश्वास व्यक्त गर्दै भन्नुभयो, “सबैको सहयोगले दिगो समाधान गर्न सकिन्छ, गत साल नेपालमा श्रीलङ्का बन्छ भन्ने आतङ्क जस्तो थियो, हामी नयाँ राजनीतिक पहलका साथ अघि बढ्दैछौँ ।”

उहाँले नेपालको पत्रकारिता क्षेत्रले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै देशको परिस्थितिमा सुशासन र न्यायका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.