जापानमा कोरोना संक्रमण ह्वात्तै बढ्यो परीक्षण सुविधा विस्तार नगरिएकाले अरु फैलिने चिन्ता
एसियाली मुलुकहरुमा कोरोना संक्रमण कम रहेको दावी भैरहँदा पूर्वी एशियाली देश जापानमा एकै दिन धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ । जापानमा कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुनसक्ने चिन्ता व्यक्त गरिएको थियो ।
जापानमा मंगलबार दिउँसो १ सय ४१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो समेत गरेर जापानमा संक्रमितको संख्या कुल २ हजार १ सय २८ पुगेको छ । यसमा क्रुज डायमण्डमा रहेका ७ सय १२ जना यात्रु सामेल छैनन् । यसलाई सामेल गर्ने होभने २ हजार ८ सय ४० भएको छ ।
छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन । घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ ।
जापानमा कोरोना संक्रमणका कारण प्रख्यात हास्य कलाकार केन शिमुराको मृत्यु भैसकेको छ । यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन् ।
जापानमा क्रुजमा सवार ११ जनासहित ७० जनाको मृत्यु भएको छ ।