सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउने कि नल्याउने ? सर्वोच्चले २४ गते आदेश दिने
लकडाउन गरिएपछि भारतमा मजदूरी गर्न गएका सयौं नेपालीहरु स्वदेश फर्कने क्रममा सीमामा अलपत्र परेपछि उनीहरुलाई स्वदेश ल्याउनुपर्ने माग सहित सर्वोच्च अदालतमा परेको रीटमा अदालतले २४ गते रीट निवेदक र सरकारको छलफलपछि मात्र निर्णय गर्ने भएको छ ।
स्वदेश फर्कन चाहनेहरु महाकालीपारि धार्चुला लगायतका सीमाबाट नेपाल आउन चाहने नेपालीलाई प्रवेश गराउन आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश नदिएर चैत्र २४ गते दुबै पक्षलाई बोलाएर मात्र निर्णय गर्ने भएको हो ।
लकडाउनका बेला नेपाल-भारत सीमाबाट आवतजावत बन्द भएपछि भारतबाट नेपाल आउन चाहने नेपालीहरू सीमामा अलपत्र परेको भन्दै उनीहरूलाई प्रवेश दिनुपर्ने जिकिरसहित अधिवक्ता मनिषकुमार श्रेष्ठले दिएको रीटमा न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दुवै पक्षलाई २४ गते छलफलमा बोलाएको छ । दुवै पक्षको बहस सुनेर अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने छ ।
सर्वोच्चको आदेशमा भनिएको छ प्रस्तुत निवेदनको संवेदनशीलतालाई मध्यनजर गरी दुवै पक्षलाई छलफलमा राखी अन्तरिम आदेशको सन्दर्भमा निर्णय गर्न उपयुक्त हुने देखिएकोले चैत २४ गते अन्तरिम आदेश छलफलको पेशी तोकी प्रस्तुत निवेदन नियमाअनुसार पेश गर्नु ।
यसअघि अधिवक्ता मिना बस्नेत र माधव बस्नेतले सीमा बन्द गर्ने र अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय विरूद्ध रिट दिएकामा उक्त रिटमा पनि छलफल सुनेरमात्र अन्तरिम आदेश दिने सर्वोच्चले जनाएको थियो । जतिबेला रीटमा आदेश हुनेछ त्यतिबेला सम्भवनः लकडाउन र उडान बन्द खुलिसकेको हुनेछ ।
प्रतिक्रिया राख्नुहोस्