“तनावको अवस्थामा हस्ताक्षर गर्नु अनुचित” : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनाको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेन ।

मंगलबार आयोगले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचनमा सहभागी हुन दर्ता भएका सबै दललाई बोलाएको थियो । त्यहाँ नेपाली कांग्रेससहितका दलहरुले आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका थिए ।
आयोग पुगेका केही राजनीतिक दलले भने छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गर्दै नारावाजी गरेका थिए एमालेले होहल्ला भएको भन्दै आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर नगरेको बताएको छ ।
एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोग जानुभएको थियो । कानुन विभाग प्रमुख बडालले छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै काम गर्नु उचित नभएकाले हस्ताक्षर नगरेको बताउनुभयो ।
उता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको बताउनुभयो ।
आचारसंहिता पालना प्रतिबद्धता पत्रमा भनिएको छ, “नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न-गराउन प्रतिबद्ध छौं ।’”
प्रतिक्रिया राख्नुहोस्