जापानबिचार

कोरोनाले हामीलाई सदबुद्धि र सदमार्ग दिएर जाओस् !

केशव थापा

हामी भगवानको सृष्टिको सर्वउत्कृष्ट प्राणी । हामीसँग ज्ञान, विवेक, दया, माया, करूणा हुनुपर्ने हो तर दिनहरू, वर्षहरू बित्दै जाँदा आजको १०० वर्ष भन्दा पहिले, आजको ५० वर्ष भन्दा पहिले, आजको २५ वर्ष भन्दा पहिलेभन्दा हामी आधुनिक भयौ परिवार, समाज, राज्यभन्दा आफै ठुलो बन्ने र भन्ने रोगले हामीलाई ग्रस्त गर्दै लगेको भान हुन्छ ।

हरेक विषयवस्तुहरूमा आफूलाई अरूसँग तुलना गरी मन खिन्न गरी कमजोर बन्ने या त फेरी अर्काको राम्रैलाई पनि गलत विश्लेषण गरी आफै राम्रो, आफै ठुलो, आफै महान, आफै धनी, आफै सर्वसर्वा भन्ने गलत परिपाटीले कोरोनालेभन्दा बढी ग्रस्त गर्दै लगेको जस्तो लाग्छ ।

हामी सबै आआफ्नो ठाउँमा आआफ्नै महत्व, जिम्मेवारी र कर्तव्य लिएर जिन्दगीको रंगमञ्च आएका छौ । हामी सबैको आआफ्नो भूमिका हुन्छ तर हामी हाम्रो भूमिकाका लागि अर्कोको प्रगतीपथ, दुर्गतीपथ हेरी खिन्न हुने, कमजोर हुने, नक्कल गर्ने, प्रगतीवालाको राम्रो पक्ष पनि स्वीकार्न नसकी गलत विश्लेषण गरी खसाल्ने, होच्याउने, दुर्गती हुनेहरूलाई होच्याउने मात्र नभई आफै समेत त्यस्तै त हुने होइन भनेर डराउने ।

यी सबै गलत परिपाटी, अभ्यासले समाजमा राम्रा मान्छेहरू पर्दा पछाडि पार्दिएका छन् । गलत मान्छेहरूलाई पनि ठुलाठुला फुलमाला लगाई दिएका छन् । हामी हामीमा रहन सकेका छैनौ । बच्चाले बच्चामा जित्न नसकेर रोएको सुहाउँछ । तर हामी वयस्क भएर पनि त्यो व्यवहार समाजले पचाउदैन । हामी हामी आफै बनौ आफू नै बनेर जीन्दगीको रंगमञ्चमा आफ्नै भूमिका निखाराउ रमाउ । आफ्नै क्षमता आफूमा भएको ज्ञान, विवेक, लगनशिलता लागि विश्वास गरौ विकास गरौ ।

कोरोनाकोभन्दा भयाभह रोगपाली परिवार, समाज, राज्यमा बसेको हामी नयाँ पिढी या नयाँ समाजले मानव सृष्टि, मानव संस्कारको प्रतिष्ठा र सम्मानका लागि आत्मसात गर्दै अघि बढ्न नसके कोरोनाले १ पटक मार्ला तर हाम्रो बानी, व्यवहार, संस्कारले आफै आफै लागि दैनिक र जीन्दगी भर १०० औं पटक मार्ने छ ।

कोरोना हाम्रो समाज र संसारबाट जति चाँडो र जसरी भए पनि गइदिए हुन्थ्यो भन्ने सोच आज तपाईं हामीमा छ । त्योभन्दा पहिले र यही अवधिमा समाजभित्र भएको कसैको उन्नति प्रगतिमा स्वच्छ हृदयले स्वीकार गरी सत्कार गर्नसक्ने बानीको विकास होस । समाजमा भएका गलत बाटो र गलत प्रक्रिया पक्डनेहरू प्रति बिनम्र भई आफ्नो गल्ती कमजोरी स्वीकार्दै सही बाटोमा मार्गदर्शन गर्नसक्ने बनौ या कि भाँडमा जाओस् । साराको ठेक्का मैले लिएको छु र भने झै यसपालीको कोरोना चीनको हो हामलाई के मतलब भन्ने युरोप, अमेरिका या अरू सबै देशलाई आज कोरोनाले गाजेको छ ।

हामी पनि परिवार छिमेकीमा केही पर्दा काखी ठोक्ने, कुरा काट्ने, खुचिङ् गर्ने रमाइलो मान्ने तर, भोलि आफ्नै घरमा त्यस्तै पर्दा पीडामा पर्छौ, निराश हुन्छौ। घर छिमेकीमा कोही बिग्रनु, कुलतमा लाग्नु, असफल हुनु, भ्रष्टाचारमा लागि धन दौलत भौतिक सुख देखाउनु कोरोना जस्तै बेलैमा लकडाउन गर्न नसक्दा यसरी समाज देशै सखाप गर्ने गरी झांगियो । त्यसैले घर परिवार नै गलत संसार लागि लकडाउन गरौ। समाज, राज्य सम्म यी रोगहरूको संक्रमण हुनबाट जोगाउ ।

जे जसरी पनि ठुलो घर बनाइदिए हुन्थ्यो, राम्रो गाडी चढ्दिए हन्थ्यो, महँगो गरगहना, विदेश भ्रमण ,भव्य रेष्टुरेन्ट होटलमा खाना खुलाईदिए हुन्थ्यो भन्ने कतिपय परिवारको सदस्यले आजको पिढीहरूलाई गलत बाटोमा धकेलिरहेको भान हुन्छ । त्यसैले समाजमा कसैले गलत परिपाटी तौरतरिकाबाट अर्थआर्जन गरी महल, भौतिक सम्पन्नता देखाउँदै छ भने समाजले हातेमालो गरी त्यस्ता लागी सभ्य र नम्र वौदिकता दर्शन, आदर्शले सही बाटोमा ल्याउने कोशिश गर्ने नभए समाजले सामाजिक र राष्ट्रियरूपमा वहिस्कार गर्ने परिपाटी विकास गर्नतिर समाज लाग्नुपर्यो। नत्र बनमारा झै त्यो नयाँ पिढीमा समेत छपक्कै झाङिदै गइरहेको छ ।

नयाँ पिढीहरू लगनशील हुने, आफै आफ्नो खुट्टामा उभिने अठोट र दृढताभन्दा काका, मामा, हजुरवबुवा, भिनाजु अनि त्योभन्दा परको नाता गोता खोज्दैमा क्षमता, सीप, ज्ञानको विकास गर्ने सुवर्ण अवसर मौका गुमाउदै गफ र गफाडीमा मात्र तर्कहिन, क्षमताहिन, परजीवी साथै समाजका लागी भार र मार थपिदै र बढदै गइरहेको छ । आत्मसम्मान, आत्मवल, आत्मसन्तुष्टी गुमाएर देखावटी, बनावटी जीवन जीउदै ,महल छ, गाडी छ, टन्नै सम्पत्ति छ तर २ पैसाको बुद्धि र विवेक छैन । त्यस्तै मान्छेहरू समाजमा बनमारा झै चौपट रूपमा झांगिदै गइरहेको छ।

त्यो बनमारा अहिले कोरोनाभन्दा बेस्सरी झाङिएको छ । सायद कोरोनाले पनि त्यसलाई लान सक्ने छैन । किन कि कोरोनाले केहीको शरीर लैजाला ।हाम्रो समाजको नातागोत, पार्टी नेताको आडमा गलत बाटो र चोर बाटोबाट अथाह कमाउन सकिन्छ भने किन टाउको दुखाउने । यस्तैमा हाम्रो परिवार, नातागोता, मित्र, नेता, अग्रज धेरै गाँजिएका छन् ।

कोरोनासँग हामीमा गाँजिएर रहेका मै ठुलो, मै जान्ने, मै ज्ञानी भन्ने राम्रोलाई पनि स्वच्छ हृदयले नगन्ने । नराम्रोलाई स्वार्थले सम्मान र सत्कार गर्ने संस्कार हटेर जाओस । दुःख र इमान्दारीको खान पान, झुप्रो बसाईलाई मान सम्मान गर्ने समाज बनोस । गलत बाटो पक्डेर कोहीले मान सम्मान, धन दौलत जम्मा गर्नेतिर नलागौ । गलत बाटोबाट अर्थ आर्जन गरी महल, भौतिक सम्पन्नता जम्मा गरेकालाई गीता, वेद, पुराण, ज्ञान, परामर्श दर्शनले परिवर्तन ल्याउन पहल गरौ । भएन भने समाजबाट कपाल मुण्डन गरी चार डाँडा कटाउ । महिन्द्र मल्लको पालामा झै छिमेकीको घरमा अगेनामा आगो बले नबलेको हेर्ने संस्कारमा फर्कौ ।

नयाँ पिढीले आउने पिढीलाई पनि अहिलेका अधिककततम बिग्रेर गनाएका भष्टाचारी, कृपावादमा बाधिएका सरकारी कर्मचारी, नेता, व्यापारी, न्यायकर्मी, स्वस्थकर्मी जस्ता गलत परिपाटी तौरतरिकाबाट अर्थ आर्जन गरी महल, भौतिक सम्पन्नता सामाजिक वहिस्कार गरौ समाजमा रहेपछि छिमेकीको पीडा,दुःख,अभाव,रोग,गरिबी ले भोलि हामीलाई नै पिरोल्छ ।

सेवा नै धर्म हो । दुःखमा परेको बेला काखी ठोक्ने, रमाउने, आत्मवल गिराउने नगरौ । भोलि कोरोनाले न जात, न धर्म, न धनी न गरिब, न ठुला देशको न साना देशको, न ठुलो पदको, न सानो पदको आदि आदि । समाजको रोग, गरिबी, अभाव, पीडा पनि सबैको कोरोना लागि जस्तै बेलैमा लकडाउन गरौ । राम राज्य, स्वर्ग हामीले बनाउने हो । कोरोनासँगै हामी र हाम्रो समाजमा झांगिएको जसरी धनी बन्नुपर्ने ज्ञानी, बिद्वान, इमानदारको मान,प्रतिष्ठा नहुने समाजिक परिपाटी घर, परिवार, समाज, राष्ट्रबाट हटाउने प्रण गरौ ।

उच्च मनोवलका साथै कोरोना साथै कुरीति, कुसंस्कार, कुनियतबाट मुक्त हुँदै रामराज्य र स्वर्गरूपी समाज विकास गर्ने अवसर र मौकाको रूपमा लिएर अगाडि बढौ । साँच्चिकै मानव र आफैमा आत्मसम्मान गर्नसक्ने, आफ्नै भूमिकामा रमाउनसक्ने भएर आफू पनि बाचौँ र अरूलाई पनि बचाऔं । सबैको कल्याण होस्।

(थापा जापानका नेपाली युवा व्यवसायी हुन।)

सम्बन्धित खबर

Back to top button