जलवायु परिवर्तनका कारण विश्वका विभिन्न भागमा अत्यधिक गर्मीको लहर तीव्र बन्दै गएको अवस्थामा जापानमा पनि इतिहासकै लामो चरम गर्मीको श्रृङ्खला देखिएको छ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार शनिबार देशमा लगातार पाँचौँ दिन ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएको छ, जुन सन् २०१० देखि तुलनात्मक अभिलेख राख्न थालिएयताको सबैभन्दा लामो अवधि हो।
शनिबार मात्रै मध्य जापानका कम्तीमा छ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो। टोकाइ क्षेत्रका चारै प्रान्त, शिजुओका, गिफु, मिइए र आइचीमा अत्यधिक गर्मी मापन भएको हो।
मिइए प्रान्तको कुवाना सहरमा ४०.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड भयो भने गिफु प्रान्तको मिनो मा ४०.८ डिग्री तथा ताजिमी मा ४०.७ डिग्री सेल्सियस पुगेको जेएमएले जनाएको छ। त्यस्तै शिजुओकाको हामामात्सु मा ४०.३ डिग्री र आइचीको टोयोटा सहरमा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
यसैगरी, शिजुओकाको उत्तर–पूर्वमा रहेको यामानासी प्रान्तको राजधानी कोफु मा पनि तापक्रम ४०.० डिग्री सेल्सियस पुगेको छ। यो यस वर्ष टोकाइ क्षेत्रबाहिर पहिलो पटक ४० डिग्री सेल्सियस पुगेको स्थान बनेको छ।
‘कोकुशोबी’ शब्दको प्रयोग
चरम गर्मीका कारण जनस्वास्थ्यमा बढ्दो जोखिमलाई ध्यानमा राख्दै जापान मौसम विज्ञान एजेन्सीले यसै वर्षको अप्रिलदेखि ‘कोकुशोबी’ भन्ने नयाँ शब्द प्रयोगमा ल्याएको छ।
यसको अर्थ ४० डिग्री सेल्सियस वा सोभन्दा माथि तापक्रम पुगेको ‘अत्यन्त क्रूर गर्मीको दिन’ भन्ने हो। यसअघि ३५ डिग्रीभन्दा माथिको तापक्रमलाई ‘मोशोबी’ (अत्यधिक गर्मीको दिन) भनेर वर्गीकरण गरिन्थ्यो।
स्वास्थ्यमा उच्च जोखिम
अधिकारीहरूले अत्यधिक गर्मीका कारण तापघात (हीटस्ट्रोक), निर्जलीकरण तथा मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने भन्दै नागरिकलाई अनावश्यक रूपमा दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, वातानुकूलित वा चिसो स्थानमा बस्न तथा वृद्धवृद्धा र बालबालिकाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्।
यसअघि पनि जापानका अधिकांश प्रान्तमा हीटस्ट्रोकको उच्च जोखिमको चेतावनी जारी गरिएको थियो। हालका वर्षहरूमा जापानमा गर्मीका कारण हजारौँ मानिस अस्पताल भर्ना हुने र दर्जनौँको ज्यान जाने घटना दोहोरिन थालेका छन्।
जलवायु परिवर्तनको प्रभाव गहिरिँदै
मौसमविद्हरूका अनुसार विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ) र जलवायु परिवर्तनका कारण जापानमा अत्यधिक तापक्रमका घटना लगातार बढिरहेका छन्।
विगत केही वर्षयता ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पहिलेभन्दा धेरै पटक मापन हुन थालेको छ। वैज्ञानिकहरूले यस्तो चरम मौसमी घटना भविष्यमा अझ बारम्बार र तीव्र हुन सक्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया राख्नुहोस्