राजनीति

संसदको मर्यादामा आँच पुगेकोमा क्षमाप्रार्थी छौं : रास्वपा सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसंग दुई करोड रुपैयाँ मागेको श्रव्य सार्वजनिक र्भपछि यो विषयले संसदमा बहस गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले पार्टीतर्फका सांसद ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे पार्टीले छानबिन गरिरहेको जानकारी दिनुभयो ।

“छानबिनको अवधि पूरा नभएसम्म पार्टीको साधारण सदस्य र सांसदका रुपमा कुनै भूमिका गर्न नगराउन पार्टीले निर्देशन दिइसकेको छ । हामी बैठक बसिरहँदा सम्भवतः उहाँको स्पष्टीकरण आइसक्यो होला”, सांसद परियारले भन्नुभयो ।

उहाँले सुशासन र कानुनी राज अनि संविधानवादमा विश्वास गर्ने रास्वपाका सांसदका कारण सिंगो संसदको मर्यादामा आँच पुगेकोमा पार्टी क्षमायाचना गर्दछ भन्दै यसको निष्पक्ष छानबिन हुने बताउनुभयो ।

सांसद परियारको भनाई लगत्तै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे प्रतिनिधिसभाभित्रै समिति बनाएर छानबिन गर्न माग राख्नुभयो ।

उहाँले भन्नुभयो, “आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दछु ।” सांसद गुरुङले नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासनमा ठगी गर्नेलाई समेत तत्काल छानबिन र दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

त्यसै गरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले रास्वपाका सांसद श्रेष्ठको विवादास्पद टेलिफोन रेकर्डबारे गठबन्धनका नेताहरु जवाफदेही हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनका नेताहरुले यस संसद्मा यसबारे बोल्नुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.