जल/वातावरण

प्रकृतिसंगको निकटतामा नेपाल विश्वमै पहिलो

जैविक, भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपालका लागि नव वर्ष २०८३ को पूर्वसन्ध्यामा एउटा सुखद समाचार बाहिरिएको छ । त्यो सुखद समाचार हो, प्रकृतिसँगको निकटताको मापन गर्दा नेपाल विश्वमै पहिलो।

पछिल्लो विश्वव्यापी अध्ययनले नेपाल प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशको सूचीको सबभन्दा पहिलो स्थानमा रहँदा नेपाललाई इरान, दक्षिण अफ्रिका, बंगलादेश र नाइजेरियाले पछ्याएका छन्।

नेपालले सबभन्दा उच्च अंक पाएको त्यो अध्ययन विश्वका ६१ देशका ५७ हजार मानिससँग सोध गरिएको थियो। त्यसको निस्कर्ष अनुसार ब्रिटेन, नेदरल्यान्ड्स, क्यानडा, जर्मनी, इसराइल, जापान, स्पेनजस्ता देश प्रकृतिसँग सबभन्दा कम जोडिएको पाइएका थिए। तर अति विकसित मानिने ती देश प्रकृतिसँग सबभन्दा धेरै जोडिएका देशको सूचीको पिँधमा रहेको देखाइएको छ।

ब्रिटेन र अस्ट्रियाका अध्येता सहभागी नयाँ अध्ययनबारेको आलेख यसै साता ब्रिटेनको गार्डियन अखबार, एम्बिओ जर्नल र फाइन्डिङ नेचरमा प्रकाशन गरिएको थियो।

अध्येताका भनाइमा कुनै पनि देश प्रकृतिसँग कति धेरै वा कम जोडिएको छ भन्ने कुरा भावनात्मक र मनोवैज्ञानिक विषय हो, जसले मानिसको अन्य प्रजातिसँगको सम्बन्ध मापन गर्छ।

अध्येताहरूको निष्कर्ष छ, प्रकृतिसँग धेरै जोडिएका देशका मानिस पर्यावरणमैत्री स्वभावका हुन्छन् र उनीहरूको समग्र स्वास्थ्य अवस्था राम्रो हुन्छ।

त्यसको ठिक विपरीत प्रकृतिसँग कम जोडिएका देशमा जैविक विविधता जोखिममा हुन्छ। र, समाजमा असमानतासँगै व्यक्तिवादी र भौतिकवादी चरित्र हाबी हुन्छ।

पछिल्लो अध्ययनका प्रमुख अध्येता ब्रिटेनको डाबी विश्विद्यालयका प्रोफेसर माइल्ज रिचर्डसन सो विश्वविद्यालयमा ह्युमन फ्याक्टर्स र नेचर कनेक्टेडनेस -मानव पक्ष र प्राकृतिक सम्बन्ध)का प्राध्यापक हुन्।

प्रकृतिसँग कुन देश धेरै जोडिएको भन्नेबारे पछिल्लो विश्वव्यापी अध्ययनमा समेत नेपाल सबभन्दा अब्बल साबित भएपछि अब नेपालले के के फाइदा लिन सक्ला भन्ने जिज्ञासा उत्पन्न भएको छ ।

अध्येताहरु विश्वमै प्रकृतिसँग सबभन्दा धेरै जोडिएको देशका रूपमा नेपालले आफूलाई मानव–प्रकृति मिलनको दृष्टिले विश्वको नेताको रूपमा उभ्याउन सक्ने बताउँछन् । जलवायु परिवर्तनका कारण सिर्जित अनेक समस्याहरुको समाधानका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.