जल/वातावरण

तापक्रम वृद्धि यसअघि कहिल्यै नदेखिएको डरलाग्दो मार्गमा

‘जियोफिजिकल रिसर्च लेटर्स’मा प्रकाशित हालैको एक अध्ययन अनुसार, विश्वव्यापी तापक्रम वृद्धि मानव इतिहासमै कहिल्यै नदेखिएको डरलाग्दो मार्गमा अघि बढिरहेको छ।

विश्वव्यापी तापक्रम वृद्धिको दर १० वर्षमा दोब्बर भएको छ। प्रकृतिको सामान्य प्रभावभन्दा बाहिरको यो तीव्र दर पृथ्वी जत्रो पिण्डका लागि थेग्न नसकिने हुनुपर्ने हो। यदि यो दर जारी रह्यो भने आज देखिएका खतराका संकेतहरू भोलि विनाशकारी नतिजामा परिणत हुनेछन्। वास्तवमा, अन्टार्टिक क्षेत्रमा भएका नयाँ खोजहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई थप तीव्र बनाउने चिन्ता थपिदिएका छन्।

जर्मनीको ‘पोट्सडैम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’ का पृथ्वी प्रणाली विश्लेषण प्रमुख तथा अध्ययनका सह-लेखक स्टेफान राम्स्टोर्फले ‘लाइभ साइन्स’लाई इमेलमार्फत भनेका छन्, “सन् २०१४ पछि तापक्रम वृद्धिको प्रवृत्ति झण्डै दोब्बर भएको छ। यसको अर्थ हामी १.५°C को सीमालाई अपेक्षा गरेभन्दा चाँडो पार गर्नेछौँ।” सन् २०१४ पछि देखिएको यो नाटकीय उछालले वैज्ञानिकहरूलाई समेत आश्चर्यचकित बनाएको छ। (स्रोत: लाइभ साइन्स, मार्च ७, २०२६)

अन्टार्टिक सागर

विगत दशकमा देखिएको तापक्रम वृद्धिको दरले वैज्ञानिकहरूलाई अचम्ममा पारेको होला, तर यो दर अझै तीव्र हुने अवस्थामा छ। एउटा नयाँ अध्ययन अनुसार, अन्टार्टिकाको रोस सागरको तटीय क्षेत्रको समुन्द्री सतहमा दर्जनौँ नयाँ ‘मिथेन सिप्स’ (मिथेन ग्यास चुहिएर बाहिर निस्कने ठाउँ) फेला परेका छन्। यसले एउटा अज्ञात ‘क्लाइमेट फिडब्याक लूप’ को चिन्ता बढाएको छ, जसले विश्वव्यापी तापक्रम वृद्धिलाई झनै गति दिन सक्छ। (स्रोत: लाइभ साइन्स, अक्टोबर १५, २०२५)

यस अध्ययनमा अनुसन्धानकर्ताहरूले ध्वनिक सर्वेक्षण, गोताखोर र रिमोट-संचालित मेसिनहरूको प्रयोग गरी रोस सागरको बरफ मुनि ५ मिटरदेखि २४० मिटरको गहिराइमा रहेका ती चुहावटहरूको खोजी गरेका थिए। टोली सुरुमा ‘केप इभान्स’ मा रहेको एउटा मात्र चुहावटको अनुसन्धान गर्न गएको थियो, तर त्यहाँ दर्जनौँ यस्ता ठाउँहरू भेटिएपछि उनीहरू चकित भए।

ओटागो विश्वविद्यालय (न्युजिल्याण्ड) की सारा सीब्रुक भन्छिन्, “हामी केवल एउटा सानो क्षेत्र हेर्न गएका थियौँ, तर त्यहाँ दर्जनौँ अरू भेटिए। यो प्रणाली हाम्रो आँखा अगाडि नै वर्षैपिच्छे तीव्र गतिमा परिवर्तन भइरहेको छ।”

केही महिनाअघि मात्रै एउटा स्पेनी टोलीले अन्टार्टिक प्रायद्वीपको तटमा पनि ठूलो मात्रामा मिथेन चुहावट पत्ता लगाएको थियो। यो रोस सागरको खोजभन्दा झण्डै १,५०० माइल टाढा छ।

यसैबीच, अर्को एउटा अध्ययनले अन्टार्कटिका ‘पोलर एम्प्लिफिकेसन’को संघारमा रहेको देखाएको छ। यसले अन्टार्टिका र विश्वभरि नै तापक्रम वृद्धिको प्रभावलाई तीव्र बनाउने खतरा बढाएको छ, जुन तटीय सहरहरूका लागि नराम्रो खबर हो।

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने राष्ट्रहरूले जीवाश्म इन्धन उत्सर्जन घटाउन गरेको प्रतिवद्धता पूरा नगर्दा, पग्लिएका अन्टार्टिक हिमनदीहरूले न्युयोर्क र लन्डन जस्ता सहरहरू डुबाउन सक्ने जोखिम बढेको छ।

ध्रुवीय वैज्ञानिकहरूले सन् २०२४ देखि अन्टार्टिकाको बिग्रँदो अवस्थाबारे पहिलेभन्दा अझ बढी जोडदार रूपमा चेतावनी दिइरहेका छन्।

प्रमुख चेतावनीहरू:
१. अगस्ट २०२४: चिली अन्टार्कटिक इन्स्टिच्युटका ग्लेसियोलोजिस्ट गिनो कासासाले हालको प्रवृत्ति अनुसार सन् २१०० सम्ममा समुन्द्रको सतह १३ फिटले बढ्ने दाबी गरे।

२. नोभेम्बर २०२४: ४५० ध्रुवीय वैज्ञानिकहरूले अष्ट्रेलियामा आपत्कालीन बैठक गर्दै भने, “यदि हामीले चाँडै कदम चालेनौँ भने, अन्टार्कटिक बरफ पग्लिएर हाम्रो जीवनकालमै विश्वभर विनाशकारी समुद्री सतह वृद्धि हुनेछ।”

३. फेब्रुअरी २०२५: ‘नेचर’ मा प्रकाशित २० वर्षे अध्ययनले विश्वभरका हिमनदीहरू अभूतपूर्व रूपमा पग्लिरहेको पहिचान गर्‍यो।

मोनस विश्वविद्यालयका जलवायु वैज्ञानिक अरियान पुरिचका अनुसार, “आउने दशकहरूमा अन्टार्टिका दक्षिणी गोलार्धका अन्य भागहरू भन्दा १.४ गुणा छिटो तात्न सक्छ।” यो तातोपन मुख्यतया वरपरका महासागरहरूबाट निस्कने तातोका कारण हुनेछ।

वास्तवमा, महासागरको तापक्रम पनि चिन्ताको विषय बनेको छ। विश्व मौसम विज्ञान संगठनका अनुसार, २०२५ मा महासागरको तापक्रम लगातार नवौँ वर्ष पनि कीर्तिमानी उचाइमा पुगेको छ। सन् २००५ देखि यो दर पनि दोब्बर भएको छ।

यी परिवर्तनहरू थेग्न सकिने खालका छैनन्। समयसँगै प्रकृतिको विशाल पारिस्थितिकीय प्रणाली ध्वस्त हुनेछ। पोट्सडैम इन्स्टिच्युटका अनुसार, हामी एउटा यस्तो बिन्दु को नजिक पुग्दैछौँ जहाँबाट फर्कन असम्भव हुनेछ।

वैज्ञानिकहरूका अनुसार समुन्द्री सतह वृद्धिको भविष्यवाणी फरक-फरक छन्। आईपीसीसीले सन् २१०० सम्म १ देखि ३ फिटसम्म वृद्धि हुने बताएको छ, तर केही रिपोर्टहरूले ६.५ फिटसम्मको वृद्धिलाई नकार्न नसकिने बताएका छन्। तर, फिल्डमा काम गर्ने ध्रुवीय वैज्ञानिकहरूको भनाइ अझ डरलाग्दो छ। तिनीहरू एकै स्वरमा चिच्याइरहेका छन्: “कार्बन उत्सर्जन अहिल्यै बन्द गर!”

‘काउण्टरकरेन्ट’मा प्रकाशित लेखको अनुवाद

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.