पाकिस्तानबाट नेपाल आएर सुन चोरीमा संलग्न
पाकिस्तानबाट नेपाल आएर सुन चोरीमा संलग्न रहेको दुई पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको छ । समाचार अनुसार कपिलबस्तुको शिवराज नगरपालिका–चन्द्रौटाबाट सुनका गहना चोरी गरेको आरोपमा दुईजना पाकिस्तानी महिला पक्राउ परेका हुन् ।
तस्वीर साभार गोरखापत्र
पक्राउ पर्नेमा २० वर्षीया विवि कलसुम र ४१ वर्षीया सहबाना रहेका छन् । उनीहरूको साथबाट पाकिस्तानी पासपोर्टसमेत बरामद गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।
प्रहरीका अनुसार चैत ३० गते साँझ करिब ५ः३० बजे सामान्य ग्राहकको रूपमा सुन पसलमा प्रवेश गरेका उनीहरूले सुन किन्ने बहानामा चोरी गरेका थिए । चोरीपछि पसलबाट बाहिर निस्कँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेको पनि खुलेको छ ।
उनीहरूले योगीकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका महिलाहरूले रुपन्देहीको योगीकुटी, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको खुलेको छ ।
उनीहरूले नगद देखाउने तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाएको पाइएको छ । हाल उनीहरूविरुद्ध चोरी तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।





प्रतिक्रिया राख्नुहोस्