अनिश्चित लक डाउन अनिश्चित परीक्षा- विद्यार्थीको मूल्यांकन उत्तरपुस्तिका मात्रै हुँदैन

विश्वव्यापी महामारीको रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)बाट नेपाल पनि अति प्रभावित छ र चैत्र ५ गतेयता विद्यालयदेखि उच्च विद्यालयतहसम्मका पठनपाठन ठप्प मात्रै होइन निर्धारित परीक्षा पनि अनिश्चित बनेका छन् ।
अहिले विद्यालय तहको फालामे ढोका मानिने एसईई र कक्षा ११ र १२ को परीक्षा स्थगित भएपछि आगामी दिनमा विद्यार्थीको मूल्यांकन कसरी गर्ने भन्ने गहन छलफल आवश्यक देखिएको छ ।
एसईई, कक्षा ११ र १२ को परीक्षाले नै उच्च शिक्षाको बाटो तय गर्ने हुँदा अहिले यी दुबै परीक्षा स्थगित भएको मात्र हैन कि पठनपाठन समेत ठप्प रहेका बेला विद्यार्थीहरुलाई परिरहेको मनोवैज्ञानिक असरलाई ध्यानमा राखेर वार्षिक मूल्यांकन बिधि अपनाउनुपर्ने जरुरी भएको छ । लक डाउनको अवधि कहिलेसम्म लम्बिने यक्किन नभएकाले विद्यालय तहका विद्यार्थीको वार्षिक मूल्यांकन अब उत्तरपुस्तिकामा लेखिएका प्रश्नको उत्तरका आधारमा गर्न नहुने सुझाव विज्ञहरुको छ ।
हुन त परीक्षा स्थगित भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको अवस्था लम्बिरहेमा कसरी पठनपाठनलाई निरन्तरता दिन सकिन्छ भनेर अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
सो समितिअन्तर्गत रहेको शिक्षा, शिक्षण विधि र वैकल्पिक व्यवस्था कार्यसमितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । कार्यसमितिले उच्च सङ्ज्ञान तहका प्रश्न, परियोजना कार्य, ‘केस’ अध्ययन, लेखजस्ता कार्य विद्यार्थीलाई उपलब्ध गराई त्यसबाट प्राप्त अङ्क एवं आन्तरिक मूल्याङ्कनको अङ्कलाई संयोजन गरेर सोही आधारमा प्रमाणपत्र जारी गर्न सकिने सुझाव दिएको छ ।
नेपाल खुला विश्वविद्यालयका उपकुलपतिसमेत रहनुभएका सो कार्यसमितिका संयोजक प्रा।डा। लेखनाथ शर्माले लकडाउन लम्बिरहेमा वैकल्पिक परीक्षाको बाटोमा जानुबाहेक उपाय नरहने बताउँदै केन्द्र कायम गरी परीक्षा लिएर नतिजा सार्वजनिक गर्ने पद्धति पुरानो हो । अहिलेको अवस्थामा परीक्षा केन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सम्भव छैन । त्यसैले नयाँ विधि अवलम्बन गर्नु ठीक हुन्छ भन्नुभयो ।
कार्यसमितिले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्ने र परीक्षण पनि सोही विधिबाट गर्न सकिने सुझाव दिएको छ । मूल्याङ्कनका साधन र विधिमा परिवर्तन गरेपछि सम्बन्धित शिक्षकले नै मूल्याङ्कन गर्न सक्ने नीतिगत व्यवस्थाको उपायबारेमा कार्यसमितिले सुझाएको छ ।
काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनका शिक्षाविद् डा। वासुदेव सुवेदीले अब विकल्पका बारेमा सोच्ने बेला आइसकेको बताउँदै आन्तरिक मूल्याङ्कन विधि लागू गरेको भए पनि प्रभावकारी कार्यान्वयन गर्न सकेनौँ । त्यो विधि प्रभावकारी बनाइएको भए वार्षिक परीक्षामा भर पर्नुपर्ने थिएन । अब त्यो विधिलाई प्रभावकारी बनाउनुपर्ने देखियो भन्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले प्रयोगात्मक परीक्षामा २५ मा २५ अङ्क दिने प्रवृत्ति रहेको हुँदा आन्तरिक मूल्याङ्कन विधिमा अहिले नै भर पर्न नसकिने बतताउनुभयो । परीक्षा लिनैपर्छ । बरु प्रदेशस्तरमा सञ्चालन गर्ने र विद्यार्थीको घर नजिकको केन्द्रमा गएर परीक्षा दिन सक्ने व्यवस्था बारेमा सोचिरहेका छौँ, उहाँले भन्नुभयो, यस वर्ष सम्भव नभए पनि आगामी वर्ष परीक्षा विधिमा के कस्तो परिवर्तन गर्न सकिन्छ भन्नेबारे सोच्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्