अर्थ

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी

सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु आठ करोडको पुँजी सङ्कलन भएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ ।

करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रुपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी रु आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताउनुभयो । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उहाँले भन्नुभयो, “सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक रु एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।”

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर रु पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताउनुभयो । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा रु एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताउनुभयो ।

वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.