जन सरोकार

‘ह्विलचेयरले दियो खुसी’

पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ ।

मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाउनुभएको छ । त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उहाँका लागि सम्झनलायक बनेको हो ।

लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उहाँलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भन्नुभयो ।

उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाउनुभएको छ । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्नुहुन्छ, “यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

दियाली त जन्मँदै अशक्त हुनुहुन्छ । उहाँ बोल्न पनि नक्नुहुन्न । ह्विलचेयर पाएपछि उहाँ पनि खुसी हुनुहुन्छ । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउनुहुन्छ ।

समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताउनुभयो । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.