राजनीति

“सम्वेदशील घडीमा मौका नछोप्नु होला, राजनीति गर्न सिङ्गो जीवन छ”- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेका सवारी चालक शम्भु (दिलबहादुर) थापा घाइते भएपछि लामिछानेले यस्तो बेलामा राजनीति नगरी घाइतेको स्वास्थ्यलाभको कामना गर्न आग्रह गर्नुभएको छ ।

लामिछानेले ट्वीट गर्दै आफ्ना सहयोगी भाइ छतबाट खसेर गम्भीर घाइते भएका बेला मानवीय सम्वेदनशीलता समेत नदेखाई यसैलाई भजाएर राजनीति नगर्न आग्रह गर्नुभएको छ ।

सभापति लामिछानेले यो दुर्घटनालाई चुनावी मुद्दा बनाउने जमर्को भएको सन्देश दिंदै सकिन्छ भने शम्भुका लागि स्वास्थ्य लाभको कामना गर्नु नसके राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आज विहान प्रिय शम्भु भाइ (मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नुभयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचारारत हुनुहून्छ । विहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसंग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वाथ्य अवस्था विहानकोभन्दा सुधारिएको छ, स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ । यस्तो बेला योभन्दा धेरै मसंग तपाईलाई भन्ने कुनै शब्द छैन ।”

लामिछनेले राजनीतिक प्रतिस्पर्धीहरुलाई संकेत गर्दै भन्नुभएको छ, “म नेताभन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा पनि आँखामा आँसु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला । सक्नुहुन्छ भने मलाई सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो भाइ शम्भु अस्पतालको शैय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनुहोला, स्वास्थ्यलाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो सम्वेदनशील घडीमा मौका नछोप्नु होला ।”

छतबाट खसेका चालक थापासंगै सुतेका रास्वपा महामन्त्री ढकालका चालक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.