संस्कृति

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ । सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा शुक्ताबर साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो ।

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो । उहाँका अनुसार वैशाख २ गते बिहान टोखा नगरपालिका-२ गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

वैशाख ३ गते बिहान ६ः०० बजे माथिल्लो लाछिमा सिन्दुर जात्रा गरेर उठाइएको रथ दिउँसो १ः०० बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ः०० बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाउने परम्परा रहिआएको गुथिः टोखाका अध्यक्ष नापितले बताउनुभयो । उहाँका अनुसार सोही दिन रातभर गुठियार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन शुक्रबार बिहान ६ः०० बजे सानोलाक्षीबाट सिन्दुर जात्रा गरी दिउँसो १ः०० बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ ।

उक्त स्थानमा बिसाइएको रथलाई विधिसहित सरकारी पूजाका साथै सिन्दुर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको उहाँले जानकारी दिनुभयो । यससँगै टोखाको ऐतिहासिक चारदिने विस्केट जात्रा आज सम्पन्न भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.