जन सरोकारस्वास्थ्य

भारतमा बढ्दो संक्रमण, नेपालमा खतराको घण्टी !

नेपालमा कोरोना भाइरस संक्रमण न्यून छ । संक्रमण न्यून भएसंगै खोप अभियान सुस्त छ भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कसैको चासो छैन ।

यसबीचमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण एक्कासी बढ्न थालेको छ । सयमा सीमित रहेको संक्रमण हजार नाघेपछि यसको झड्का नेपालमा पनि पर्नसक्नतर्फ विज्ञहरुले सचेत गराएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड भाइरसको विकास जारी छ । नयाँ ‘एक्स ई’ भेरिएन्ट सबैभन्दा पहिले बेलायतमा १९ जनवरीमा पाइएको थियो । यसलाई दुई ओमिक्रोनको ‘सब भेरिएन्ट’, ‘बीए १’, र ‘बीए २’ को हाइब्रिड स्ट्रेन भनिएको छ । ‘बीए २’ को दाँजोमा ‘एक्स ई’ भेरिएन्टको प्रसारदर १० प्रतिशत बढी रहेको छ ।

हालसम्म नेपालमा कोभिडको ‘एक्स ई’ लगायतका नयाँ भेरिएन्ट पुष्टि भएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार ‘एक्स ई’ भेरिएन्ट सुरुमा महाराष्ट्रमा र पछि दिल्लीमा देखिएको थियो । ‘भारतमा देखिएको ‘एक्स ई’ नेपाल पनि आइसकेको होला, हामीले पहिचान मात्र नगरेको हो ।

हाल कोभिड सुषुप्त अवस्थामा देखिए पनि जुनमा चौथो लहर वा पुनः संक्रमण वृद्धि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी विशेष रणनीति बनाउन आवश्यक रहेको वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड सेन्ट्रल हस्पिटलका उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा प्रज्ज्वल श्रेष्ठ बताउनुहुन्छ ।

भारतका विभिन्न शहरहरुमा अर्को लहर सुरु हुन लागेको आशंका गरिएको छ । यसको प्रभाव नेपालमाा स्वाभाविक रुपमा पर्ने र जोखिमबाट बच्न कोभिडविरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।

तर, खोपप्रतिको सुस्तताका कारण जोखिम पुनः भित्रिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अझैसम्म नेपालमा एक चौथाइले कोभिडविरुद्ध कुनै पनि खोप लिएका छैनन् । पूर्ण खोप लिएको धेरै समय भएका व्यक्तिले पनि प्रतिरोधक क्षमता कायम राख्न अतिरिक्त खोप लिन विज्ञहरूको सुझाव छ ।

संक्रमण न्यून हुँदै जनजीवन सहज बन्दैगएको अवस्थामा खोप अभियानलाई अरु सहज रुपमा अघि बढाउनुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन । वैशाख १ यताका पाँच दिनमा दिनहुँ सरदर २५ हजार गरी १ लाख २६ हजार ३ सय ४४ जनाले खोप लिएका छन् ।

सोमबारसम्म जनसंख्याको ७५.९ प्रतिशत अर्थात् २ करोड २१ लाख ५६ हजार १ सय ३१ जनाले एक मात्रा र ६६.४ प्रतिशत अर्थात् १ करोड ३८ लाख २ हजार १ सय ७६ जनाले पूर्ण खोप लगाएका छन् । अतिरिक्त खोप लगाउनेहरू जनसंख्याको ८.२६ प्रतिशत अर्थात् २४ लाख १३ हजार ५ सय ३२ जना मात्र छन् ।

भण्डारमा खोप थुप्रिएको छ । कतिपय खोपको मिति सकिने अवस्था पनि छ । तर, सरकारले खोपलार्य प्रभावकारी रुपमाा अघिबढाइरहेको छैन । यस्तोमा संक्रमणको अर्को लहरको जोखिम बढ्नसक्ने सम्भावना नकार्न नसकिने विज्ञहरु बताउँछन् ।

राष्ट्रिय खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुरका अनुसार मुलुकमा १२ वर्षमाथिकालाई खोप उपलब्ध छ । १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या ३४ लाख २५ हजार ४ सय ८ रहेकामा ९० प्रतिशतले एक मात्रा र ७६ प्रतिशतले पूर्ण खोप लिएका छन् । यस्तै, १८ वर्ष र त्यसभन्दा माथिका उमेरको जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेकामा ९४ प्रतिशतले एक मात्रा र ८३.२ प्रतिशतले पूर्ण खोप लिएको सरकारी तथ्यांक छ ।

११ वर्ष र त्योभन्दा मुनिका बालबालिकाले भने अझैसम्म खोप पाएका छैनन् । सरकारले ५ देखि ११ वर्षका करिब ३५ लाखका लागि खोप ल्याउने निर्णय गरिसके पनि आउने टुंगो छैन । जसका कारण चौथो लहर सुरु भएको खण्डमा १२ वर्षमुनिका बालबालिका संक्रमणको बढी जोखिममा पर्ने खतरा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button