जन सरोकार

सडक विस्तारले वीरगञ्जको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध

औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्जको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँको विद्युत् तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

सडक डिभिजन हेटौँडाले आइतबार बिहानदेखि वीरगञ्जको मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा डोजर/एक्साभेटर लगाएर भत्काउन थालेपछि यहाँको विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको हो ।

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि दैनिक काममा समस्या हुनुका साथै जनजीवन प्रभावित भएको छ । वीरगञ्जको गण्डकचोकबाट मितेरीपुलसम्मको क्षेत्रमा बिहान ५ः०० देखि दिउँसो ४ः३० बजेसम्म विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको छ । विद्युत् र इन्टरनेट सेवा कति बेला आउने अनिश्चितता कायमै रहेको स्थानीय बताउँछन् ।

वीरगञ्ज महानगर-६ का स्थानीय व्यापारी परशुराम कलवारले सडक विस्तारका क्रममा विद्युत् र इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो । “आज(आइतबार) बिहानैदेखि विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा जनजीवन प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासनले आवश्यक तयारीबिना सडक विस्तार गर्दा गर्मीयाममा सर्वसाधारण प्रभावित भएका छन् । बिजुली नहुँदा मोटर नचल्दा बोरिङबाट पानी निकाल्न नपाउँदा शौचालय जाने पानीको अभाव भएको छ ।”

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोले मितेरीपुलबाट गण्डक नहर सडक विस्तार गर्ने क्रममा विद्युत्को नियमित आपूर्ति प्रभावित हुने बताउनुभयो ।

“आज(आइतबार)देखि वैशाख ८ गतेसम्म विद्युत् सप्लाई अनियमित हुन सक्ने देखिन्छ”, उहाँले भन्नुभयो, “काबुबाहिरको मर्मत सुधार कार्यहरु बढी समय लाग्ने देखिने हुँदा बिहानैदेखि मर्मतसम्भार कार्य जारी रहेको छ ।” उहाँले विद्युत् सेवा प्रभावित हुने भएकाले आवश्यक धैर्यता अपनाउन पनि आह्वान गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.