क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको ‘डिजिटल’ अद्यावधिक अभियानलाई सफल पार्न बागमती प्रदेशका नेताकार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
महामन्त्री पौडेलले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले ‘जरा’ अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधिलगायतको प्रशिक्षण कार्यक्रम क्रियाशील सदस्यतालाई व्यवस्थित गर्न खोजिएको बताउनुभयो । उहाँले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको उल्लेख गर्नुभयो ।
“एक पटक डिजिटल रेकर्ड भएपछि नवीकरणमा सहजता पुग्छ, एकपटक आ–आफ्नो स्थानबाट मेहनत गरिदिनुहोस्,” महामन्त्री पौडेलले भन्नुभयो । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने उहाँको भनाइ छ ।
महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधिबारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताउनुभयो ।
उहाँले पार्टीको सदस्यसँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको उल्लेख गर्नुभयो ।
महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।
“हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो, यसले विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ,” उहाँले भन्नुभयो ।
कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुङ्ग्याइने महामन्त्री पौडेलले बताउनुभयो । कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यताको फारम पठाउने उहाँले बताउनुभयो । वडा सभापतिमार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ ।
सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाउने छैनन् ।





प्रतिक्रिया राख्नुहोस्