भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चौथो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १० रनले पराजित लखनउले प्रतियोगितामा चौथों जित दर्ता गरेको हो ।
जारी प्रतियोगितामा यो राजस्थानको दोस्रो हार हो । सवाई मानसिंह स्टेडियम जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । लखनउका लागि ओपनर कायल मेयर्सले ५१ रनको अर्धशतकीय पारी खेले भने कप्तान केएल राहुलले ३९ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।
त्यस्तै मार्कस स्टोईनसले २१ रन बनाउँदा निकोलस पुरनले २० रन बनाए । राजस्थानका लागि रविचन्द्रन आश्विनले २ विकेट लिए भने सन्दीप शर्मा, जेसन होल्डर र ट्रेन्ट बोल्टको भागमा समान १-१ विकेट रह्यो ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ४४ रन बनाए भने जोस बटलरले बलमा ४० रन बनाए । यी दुईले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । यस्तै देवदत्त पाडिकलले २१ बलमा २६ रन बनाए ।
लखनउका लागि आभेस खानले ३ विकेट लिए भने मार्कस स्टोइनसको भागमा २ विकेट रह्यो । जितसँगै लखनउ ६ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा कायमै छ भने समान खेलमा ८ अंक नै जोडेको राजस्थान रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्