कर्पोरेट/पर्यटन

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसँगै वनजङ्गलको स्वच्छ हावापानी र चराचुरुङ्गीको आवाजसँग रमाउनेको सङ्ख्या विस्तारै बढिरहेको छ । अझ पदयात्रा गर्नेहरु धेरै छन् । बागलुङको तल्लो क्षेत्रबाट उच्च पहाडसम्म आन्तरिक पर्यटकहरु घुमफिर गर्न थालेका छन् । दुई वर्षदेखि तमानखोलाको बराह ताल र ढोरपाटनको बुकी क्षेत्रलाई आन्तरिक पर्यटकले छोटो पदयात्राको मुख्य थलो बनाएका छन् ।

बराह ताल

पश्चिम बागलुङको मुख्य व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिकै रहेको बराह ताल क्षेत्रमा केही समय यता पदयात्रामा जानेको सङ्ख्या बढेको छ । चिसो हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताका कारण बराह तालमा पुग्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

घना जङ्गलको बीचमा अवस्थित छ बराह ताल । छेउमै रहेको सिद्ध बराह मन्दिर र यहाँबाट देखिने अनगिन्ती हिमशृङ्खलाका दृश्यले जोकोहीलाई मोहित बनाउँछ । तमानखोला गाउँपालिका–२ मा रहेको बराह तालसम्म धेरै ठाउँबाट पुग्न सकिने हुँदा पदयात्रा गर्नेका लागि आकर्षणको केन्द्र बनेको हो । बुर्तिबाङ बजारबाट तीन तीन घण्टा ३० मिनेट, अधिकारीचौरबाट तीन घण्टा, ढोरपाटन सिकार आरक्षबाट गुर्जाघाट हुँदै चार घण्टा र तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानबाट साढे एक घण्टामा बराह ताल पुग्न सकिन्छ ।

बराह ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि तमानखोला गाउँपालिकाले बर्सेनि लाखौँ रुपैयाँ पर्यटन पूर्वाधारमा लगानी गर्दै आएको छ । पाँच वर्ष अघिसम्म ताल ओझेलमा परेको थियो । गाउँपालिकाले पूर्वधार निर्माण र प्रचारप्रसार गर्न थालेपछि अहिले आन्तरिक पर्यटक आकर्षित हुँदै गएका हुन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बराह ताल क्षेत्रको विकासका लागि हालसम्म रु एक करोड ५० लाख बढी लगानी भएको बताउनुभयो । तालक्षेत्रमा पर्यटनका पूर्वधार निर्माण हुनुअघि कहिलेकाहीँ नजिकैको गाउँमा स्थानीय घुम्न गए पनि बाहिरी जिल्लाबाट आउनेको सङ्ख्या निकै कम भएको उहाँको भनाइ छ । गाउँपालिकाले ताल संरक्षणसँग बराह मन्दिर, पदमार्ग निर्माणलगायतका संरचना बनाएको अध्यक्ष बुढामगरले बताउनुभयो । पछिल्लो समय दैनिकजसो आन्तरिक पर्यटक तालमा आउने गरेको उहाँ बताउनुहुन्छ ।

“बराह तलामा आउनेको सङ्ख्या हरेक वर्ष बढिरहेको छ, अहिले पनि दिनहुँ पर्यटकले तालको अवलोकन गर्ने गरेका छन् । यतिबेला जङ्गल पूरै लालीगुराँसले राताम्य बनेको छ, फूल र यहाँको वातावरणसँग रम्न आउने धेरै छन्,” अध्यक्ष बुढामगरले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि सुरुको कार्यकालमै यसको विकासमा जुटेका थियौँ, सडक पुगेको थिएन, सडक पुर्यायौँ, पदमार्ग बनाएका छौँ, अन्य थुप्रै संचरना बन्ने चरणमा छन्, घुमफिर गर्नेहरुको रोजाइमा बराह ताल परेको छ ।”

चितवनबाट घुम्न आउनुभएका राजु पौडेलले बराह ताल निकै रमणीय रहेको बताउनुभयो । गर्मी बिदामा ढोरपाटन घुम्न आएको सुनाउँदै ११ जनाको टोली बुर्तिबाङबाट बराह तालसम्म पदयात्रा गरेको सुनाउँदै एक रात ताल छेउमै ‘क्याम्प फायर’ गरेर बसेको बताउनुभयो । आफूहरु बराह ताल पुग्दाको साँझ अन्य तीन टोली पनि त्यहाँ पुगेको सुनाउँदै यही रुट हुँदै ढोरपाटन पुगेको उहाँको भनाइ छ । वसन्त ऋतुमा फुलेका विभिन्न थरिका फूल, चराचुरुङ्गीको आवाज र यहाँबाट देखिने दृश्यले आफूहरुलाई लोभ्याएको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सिजन निकै उपयुक्त हुँदोरैछ, खासै चिसो पनि भएन, गर्मी पनि भएन, हाम्रो पुख्र्यौली घर यतै भएकाले साथीहरुसँग घुम्न आएका थियौँ, निकै रमाइलो भयो, बुर्तिबाङ बजारबाट धेरै टाढा रहेनछ, त्यही भएर होला अरु धेरै मान्छेहरु यहाँ आउँदा रहेछन्, यो ठाउँले हाम्रो मन जित्यो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.