जल/वातावरण

सार्वजनिक यातायातमा ट्राफिक प्रहरीको अनुगमन, आदेश पालना नगरेको पाइए कारबाही

काठमाडौं उपत्यकामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण तीब्ररुपमा फैलिएपछि सरकारले सुरक्षा मापदण्ड सार्वजनक गरेको छ । तर, आम सर्वसाधारण, व्यवसायीहरुले मापदण्ड पालना नगरेको गुनासो बढिरहेका बेला सार्वजनिक यातायामा भने निगरानी सुरु गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरीले बिहिबारदेखि यातायातका साधनले मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन शुरु गरेको छ । उसले उपत्यकाका विभिन्न २० स्थानमा टोली परिचालन गरी अनुगमन थालेको हो । आदेश पालनामा बेवास्ता गरेको पाइए सङ्क्रामक ऐन २०२० अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।

काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकलाई मास्क तथा भाइजर अनिवार्य रुपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा बढीमा रु १० लिई उपलब्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गर्न तथा सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन नपाउने तथा यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउनुपर्ने गरी विशेष सूचना जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउनुहुन्छ ।

पहिले राखिएका हात धुने ठाउँ निकालिए, कतिपय ठाउँमा कसैको चासो छैन

सर्वसाधारणमा हातधुने बानीसमेत घट्टै आएको छ । गत वर्ष यो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमणले गति लिन थाल्दा ठाउँठाउँमा हात धुनका लागि ट्याङ्कीको व्यवस्था गरिएको थियो भने त्यसको प्रचारप्रसारलाई तीव्रता दिइएको थियो । प्रहरी र स्थानीय तहले माइकिङ नै गरेर सावधानी हुन सार्वजनिक आह्वान गरेको थियो ।

अहिले गत वर्ष राखिएका ती कतिपय ट्याङ्की निकालिएका छन् भने कतिपय ठाउँमा भएका ट्याङ्की न्यून प्रयोग भइरहेको छ । काठमाडौँको मैतीदेवीमा राखिएको ट्याङ्की हटाइएको छ । अन्य स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने क्रम पनि धेरै घटेको छ ।

अहिले मुलुकभर सङ्क्रमणदर दैनिकरूपमा बढ्दो छ । मन्त्रालयका अनुसार बुधबार सङ्क्रमण बढेर दुई हजार ३५१ पुगेको थियो । त्यसको अघिल्लो दिन मङ्गलबार एक हजार ७३६ सङ्क्रमित थपिएका थिए । सोमबार वैशाख ६ मा एक हजार २८१ र ५ गते एक हजार ९६ मा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमणको दर क्रमशः उकालो लाग्दै जाँदा उपत्यकामा गति बढ्दो छ । बुधबारको सङ्क्रमितमध्ये झण्डै आधा काठमाडौँका रहेकाले अबको सङ्क्रमण उपत्यकामा बढ्ने देखिएको छ ।

उपत्यकामा सोहीअनुसारको तयारी भने हुनसकेको छैन । स्थानीय प्रशासनले विशेष सूचना जारी गरी सतर्कता अपनाउन भने पनि त्यो कार्यान्वयन हुनसकेको देखिँदैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.