खेल

मलेसियालाई ठूलो अन्तरले हराउँदै नेपाल शीर्षस्थानमा

काठमाडौं जारी त्रिदेशीय त्रिकोणात्मक टी २० सिरिजको लिग चरणको खेलमा नेपाल शीर्षस्थानमा रहेको छ । तीन देश सम्मिलित खेलमा प्रतियोगितामा चारमध्ये तीन खेलमा विजयी नेपालले अन्तिम खेलमा मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।

जारी प्रतियोगितामा नेपालको ब्याटिङ यसअघिको जस्तो कमजोर देखिएन । चार खेलमा दुई खेलमा नेपालले २०० रन भन्दा बढीको लक्ष्य दिएको छ । यस अघि ३४ टी२० खेलमा भुटानसँग एक पटक मात्रै २०० रनभन्दा बढी बनाएको नेपालले लगातार दोस्रो पटक त्यो कोशेढुङ्गा पार गरेको छ ।

मलेसियाबिरुद्धको खेलमा यसअघि लगातार तीन खेलमा अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमै आउट भए पनि आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र करण केसीको योगदानले नेपालले उच्च योगफल तयार पारेको हो ।

शेखले ३२ बलमा ४२, मल्लले २५ बलमा ४१ र ऐरीले १७ बलमा ३३ रन बनाए । केसी एक समय ११ बलमा सात छक्का हानेर ४४ रनको स्थितिमा थिए र उनले अर्को बलमा छक्का प्रहार गरेको भए भारतका युवराज सिंहले सन् २००७ मा बनाएको तीव्र अर्धशतकको कीर्तिमान बराबरी गर्थे । तर उनले अर्को बलमा एक रन लिए र त्यसपछिको बलमा आउट भए ।

उनी र कुशल मल्लको ब्याटिङले नेपालले सत्रौँदेखि उन्नाइसौँसम्म तीन ओभरमा ६३ रन जोडेको थियो । कुशल मल्लले १० बलमा १९ रनको योगदान दिए । नेपाली ब्याट्सम्यानहरूले कुल १९ छक्का र नौ चौका प्रहार गरेका थिए ।

नेपालले दिएको विशाल लक्ष्इ पछ्याउने क्रममा मलेशियाले विजयको लागि तीव्र गतिमा रन बनाउनु पर्ने थियो । तर म्यान अफ द म्याच सोमपाल कामीले तीन ओभरभित्र दुई विकेट लिएपछि त्यो कार्य असहज बन्यो ।

अहमद फैजले ३१, अमिनुद्दिन रामलीले १८ बलमा ४१ रन बनाएर स्कोर अगाडि बढाउन खोजे पनि नियमित अन्तरालमा मलेशियाले विकेट गुमायो । नेपालका लागि सन्दीप लामिछाने, कामी र कमल ऐरीले तीन(तीन विकेट लिए ।

यो प्रतियोगिताका चार खेलमा लामिछानेले एघार विकेट लिएका छन् । अघिल्लो खेलमा उनी करण केसीलाई उछिन्दै नेपालको लागि सबैभन्दा बढी टी २० विकेट लिने बलर बनेका थिए ।

उनले हालसम्म २४ खेलमा ४५ विकेट लिएका छन् । केसीले ३२ खेलमा ४१ र कामीले ३२ खेलमा ३१ विकेट लिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.