कर्पोरेट/पर्यटन

सगरमाथाको फेदमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस

सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको ७१ वर्ष पुगेको अवसरमा आगामी जेठ १६ गते १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस सगरमाथाको फेदमा मनाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयमा आइतबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले यो वर्ष सगरमाथाको फेदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन लागिएको बताउनुभयो ।

पर्यटनमन्त्री तामाङले भन्नुभयो, “हामीले यो पटक प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा सगरमाथाकै फेदीमा गएर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने सोच अनुरुप आवश्यक तयारीमा जुटिरहेका छौँ ।”

यद्यपि, सगरमाथाको कुन क्षेत्रमा दिवसको कार्यक्रम गरिने भन्ने अहिले यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । दिवसलाई भव्य रूपमा सफल पार्न पर्यटनमन्त्री तामाङको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । उक्त समितिमा सातै प्रदेशका पर्यटनमन्त्री र सचिव रहेका छन् ।

समितिको पहिलो बैठकले दिवसको तयारीबारे प्रारम्भिक छलफल गरेको मन्त्री तामाङले जानकारी दिनुभयो । दिवस तयारी उपसमितिले काम गरिरहेको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालका अनुसार सगरमाथाको आधार शिविरमा सगरमाथा दिवस मनाउने गरी छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको आधार शिविरमा मनाउनेकि भन्ने छलफल भइरहेको छ, बढी खर्चिलो हुने हुनाले आधार शिविरमै हुन्छ की अन्यत्रै भन्ने यकिन टुङ्गो लागेको छैन ।”

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७१ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सन् २००८ देखि सगरमाथा दिवस मनाउन थालिएको हो ।

नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटनसँग आबद्ध संस्थाहरूको समन्वयमा कार्यक्रम गरिनेछ ।

पर्यटन विभागको तथ्याङ्कअनुसार अहिलेसम्म आठ हजार हाराहारीले सगरमाथा आरोहण गरिसकेका छन् । विश्वका १४ अग्ला हिमालमध्ये विश्वको सर्वोच्च हिमाल सगरमाथासहित आठ वटा हिमाल नेपालमा रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.