राजनीति

लेनिन जन्मजयन्ती र नेकपा स्थापना दिवसका अवसरमा प्रमको शुभकामना

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज परेको समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री

आज एक विज्ञप्तिमार्फत उहाँले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू तथा जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै सो विज्ञप्तिमार्फत उहाँले यस अवसरमा सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना पनि गर्नुभएको छ ।

लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको पनि स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सो विज्ञप्तिमा भन्नुभएको छ, “विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यति बेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ ।”

उहाँले भन्नुभएको छ, “यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिष्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ ।”

प्रधानमन्त्री दाहालले आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन हो भन्नुभएको छ ।

कम्युनिष्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौती सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “यही निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो । यस दिशामा सम्पूर्ण वामपन्थी शक्तिहरू एवं सम्पूर्ण क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा म विश्वस्त छु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.