बिशेषराजनीति

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा, आफूमाथिको आरोपको निष्पक्ष छानबिनको माग

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको भन्दै आलोचना हुन थालेपछि उहाँले आज बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाउनुभएको हो ।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरी सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियो । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनुभएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको जानकारी गराउनुभएका गुरुङले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको जनाउँदै यस विषयमा छानबिन होस् भनेर माग गर्नुभएको छ ।

पदमा रहेर छानबिन गर्दा स्वार्थको द्वन्द्व नहोस् भनेर राजीनामा दिएको बताउनुभएका गुरुङले लेख्नुभएको छ, “म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु ।”

उहाँले अगाडि भन्नुभएको छ, “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ ।”

“मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।”

गुरुङले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै आफूमाथि निरन्तर आक्रमण गर्ने सञ्चारकर्मीहरूलाई चेतावनी दिदै भन्नुभएको छ, “मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ । कति मिडियाकर्मी साथीहरुको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला । रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.