जापान

सन् २०२५ मा करिब ७७ हजार जापानी आफ्नै घरमा मृत फेला, अधिकांश वृद्धवृद्धा

जापानमा आफ्नै घरभित्र मृत अवस्थामा फेला पर्नेको संख्या बढ्दो छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, सन् २०२५ मा जापानभर कुल ७६,९४१ व्यक्तिहरू आफ्नै घरमा एक्लै मृत अवस्थामा फेला परेका छन्।

सार्वजनिक गरिएको यो तथ्याङ्क अनुसार, गत वर्ष देशभर प्रहरीले संकलन गरेका कुल २,०४,५६२ शवहरूमध्ये यो संख्या झण्डै एक तिहाइ हो।

घरमा हुने यस्ता एकल मृत्युका घटनाहरूमध्ये ६५ वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाहरूको हिस्सा ७६.६ प्रतिशत रहेको छ। उनीहरूको संख्या ५८,९१९ पुगेको छ, जुन सन् २०२४ को तुलनामा ८७५ ले बढी हो।

एक्लै मृत्यु भए तापनि अधिकांश मृतकहरूको शव तुलनात्मक रूपमा छिटै फेला परेको थियो । २८,३९८ जनाको शव मृत्यु भएकै दिन वा भोलिपल्ट फेला परेको थियो भने १५,८६५ जनास् दुई देखि तीन दिनभित्र र १०,४५६ जना चार देखि सात दिनभित्र फेला परेका थिए।

यद्यपि, ठूलो संख्यामा यस्ता घटनाहरू पनि छन् जहाँ मानिसहरू लामो समयसम्म एक्लो अवस्थामा रहे। राष्ट्रिय प्रहरी एजेन्सीको तथ्याङ्क अनुसार, कुल शवहरूमध्ये २२,२२२ (२८.९ प्रतिशत) शवहरू मृत्यु भएको आठ दिन वा सोभन्दा बढी समयपछि मात्र फेला परेका थिए।

यस विषयमा अध्ययन गरिरहेको सरकारी कार्यदलले यस्ता घटनाहरूलाई ुकोरित्सुशीु भन्ने गरेको छ, जसको अर्थ एक्लो मृत्यु हुन्छ। यी कोरित्सुशीका घटनाहरूमा ७१.६ प्रतिशत व्यक्ति ६५ वर्ष वा सोभन्दा माथिका थिए।

यस्तै कम्तीमा ७,१४८ व्यक्तिहरू मृत्यु भएको एक महिनाभन्दा बढी समयपछि मात्र फेला परेका थिए । जसमध्ये २०८ जना त एक वर्षभन्दा बढी समयसम्म कसैको नजरमा नपरी त्यसै अवस्थामा रहेका थिए।

लैंगिक असमानता र सामाजिक चिन्ता

यो तथ्याङ्कले लामो समयसम्म एक्लो रहने र मृत्यु हुने घटनामा पुरुषहरूको संख्या अत्यधिक रहेको देखाएको छ। यस्ता एकल मृत्यु हुनेमा पुरुषहरूको संख्या १७,६२० छ, जुन महिलाहरूको तुलनामा करिब ३.८ गुणा बढी हो।

जापान सरकारले गत वर्षदेखि यस्ता जानकारीहरू सार्वजनिक गर्न सुरु गरेको हो, ताकि समाजमा बढ्दै गएको एक्लो मृत्युको समस्यामाथि प्रकाश पार्न सकियोस्।

विवाह दरमा आएको गिरावट र जापानको बढ्दो वृद्ध जनसंख्याका कारण एकल बसोबास गर्ने परिवारको संख्या बढ्नु यसको मुख्य कारण मानिएको छ। विशेष गरी वृद्ध पुरुषहरूमा बढ्दै गएको सामाजिक एक्लोपन अहिले जापानको गम्भीर सामाजिक चिन्ताको विषय बनेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.