जल/वातावरण

नेपालले तेस्रो चरणको संक्रमणसंग जुझ्ने रणनीति बनाउनुपर्ने बेला आयो

विगत एक महिनाको अवधिमा नेपालमा अधिकांश कोरोना संक्रमित विदेशबाट आएका छन् । कैलालीमा विदेशबाट आएकाबाट स्थानीयलाई संक्रमण भएपछि दोस्रो चरणमा प्रवेश गरेको भनिए पनि अहिलेसम्म सरकारी तहबाट तेस्रो चरणको संक्रमणका बारेमा कुनै तयारी छैन ।

कोरोनाभाइरस तेस्रो चरणमा पुगेको अवस्थामा एकजना सङ्क्रमितले सरदर साढे दुईजनालाई भाइरस फैलाउन सक्ने बताइन्छ । त्यो गुणात्मक रूपमा फैलँदै जाँदा फैलने दर निकै उच्च हुन्छ । यस्तोमा जति संक्रमित भेटिएका छन् उनीहरुबाट बाहिर निस्केर समुदायस्तरमा केन्द्रित हुनुपर्ने अवस्था आएको विज्ञहरुले बताएका छन् ।

सामान्यतः एकजना मानिसमा दुई हप्ताभित्र भाइरसले एउटा चक्र पूरा गर्नेहुँदा अब उनीहरूभन्दा बाहिर त्यो फैलिएको हुनसक्ने शङ्काका भरमा काम गर्नुपर्ने उनीहरूको भनाइ छ । आधिकारिक रूपमा तेस्रो चरण नभनिए पनि कतिपय विज्ञहरूले उदयपुर जिल्लाको भुल्केमा सबैभन्दा बढी २८ जना कोरोनाभाइरस सङ्क्रमितहरू पुष्टि हुनुलाई सङ्क्रमण अब आफन्त वा छरछिमेकमा मात्र नभइ समुदायमा फैलिएको हुनसक्ने अवस्थाका रूपमा हेरेका छन्।

९ हजार चार सयभन्दा बढीको सङ्ख्यामा प्रयोगशालामा हुने पीसीआर विधिबाट परीक्षण गरिएको बताइए पनि त्यो पर्याप्त नभएको भन्दै आलोचना समेत हुने गरेको छ । त्यसैगरी द्रूत परीक्षण कीटबाट ३८ हजारभन्दा धेरैको परीक्षण गरिएको छ । त्यसैले जनस्वास्थ्यविज्ञ डा शरद वन्त नेपाल कुन चरणमा छ भन्दा पनि अहिले सङ्क्रमणको मात्रा कुन तहमा पुगेको छ भनेर खोज्नु निकै महत्त्वपूर्ण रहेको बताउनुहुन्छ ।

उहाँका अनुसार यदि सङ्क्रमण समुदायमा फैलिसकेको भए सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम सहज हुँदैन । त्यस्तो बेला व्यवस्थापकीय रूपबाट निकै सुक्ष्म र कडा अनुगमन चाहिन्छ नत्र फैलने दर निकै उच्च हुन्छ । समुदायमै सङ्क्रमण फैलँदा पनि त्यसको गति कम छ भने त्यो नियन्त्रणमा राख्न सकिने हुन्छ ।

यसबीचमा वीरगञ्जमा मुस्लिम धर्मावलम्बीहरूमा भेटिएको सङ्क्रमणलाई समेत आयातीत घटना भनिएको थियो । उदयपुरका देखिएका दुई दर्जनभन्दा धेरै सङ्क्रमणका घटनाले महामारीको चरणबारे धेरैमा द्विविधा सिर्जना गराएको छ ।

उदयपुरमा सङ्क्रमितहरू थपिने क्रम बढिरहेको पाइए पनि त्यहाँ सबैभन्दा पहिले भेटिएका सङ्क्रमितको स्रोत फेला पारिएको छैन । त्यो स्थापित नहुँदासम्म नेपाल कुन अवस्थामा छ भन्ने स्पष्ट नहुने भए पनि नेपालको तयारी भने तेस्रो चरण जसरी नै हुनुपर्ने डा वन्त बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले त्यसैले अब लकडाउनमा मात्र भर नपरेर मानिसहरूको आचरणलाई आउँदा लामो समयको लागि सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँछन्।

शुक्रवारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा अधिकारीहरूले अब हरेक स्थानीय तहमा जनस्वास्थ्य अधिकृत र प्रयोगशाला प्राविधिक सहितको टोली पठाइने बताउनुभएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कम्तिमा गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा चारवटा त्यस्ता टोली सम्पर्क व्यक्ति पहिचान र नमुना सङ्कलनका लागि पठाइने बताउनुभयो ।

नेपालमा भएका निकै कम जाँचका कारण प्रक्षेपण गर्ने निश्चित ढाँचा बनाउन कठिन हुने र जसका कारण ुएकजना सङ्क्रमितले गराउन सक्ने अन्य सङ्क्रमितहरूुको अनुमान गर्ने काम निकै असहज हुने गरेको विज्ञहरू बताउँछन् । त्यस्ता ढाँचा बनाइएका ठाउँमा पनि तिनले सबै सङ्क्रमितको सङ्ख्या पत्ता लगाउँछन् नै भन्न नसकिने जनस्वास्थ्यविज्ञ डा वन्त बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.