नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७९ घोषणा
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्थापना दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा विविध सांस्कृतिक प्रस्तुतिहसहित १३औँ वार्षिकोत्सव मनाएको छ ।
![राष्ट्रिय प्रज्ञा पुरस्कार राष्ट्रिय प्रज्ञा पुरस्कार](https://www.nepaljapan.com/wp-content/uploads/2023/04/puraskar.jpg)
कार्यक्रममा मन्त्री किरातीले गीतसङ्गीतमार्फत जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापना गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले संस्कृतिको क्षेत्रमा ठूलो अभियान चलाउन नीति तथा कार्यक्रममा नयाँ कुराहरू ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति निशा शर्माले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ प्राप्त गर्नुहुने कलाका/स्रष्टाको नाम सार्वजनिक गर्नुहुँदै सरकारले आफूलगायत प्राज्ञ परिषद् र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने बताउनुभयो ।
“पुरस्कार यसै आर्थिक वर्षभित्र राष्ट्रपतिको हातबाट प्रदान गर्नेछौँ । यसै वर्षदेखि ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा आजीवन योगदान सम्मान’ एकजना विशिष्ट स्रष्टा सर्जकलाई प्रदान गर्ने गरी गृहकार्य भइरहेको छ”, कुलपति शर्माले भन्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, वरिष्ठ नृत्यकार भैरवबहादुर थापालगायतले आफ्नो मन्तव्यका क्रममा संस्कृति मन्त्रालयलाई छुट्टै मन्त्रालयका रूपमा स्थापति गर्नुपर्नेमा जोड दिनुभयो ।
हरेक वर्ष सङ्गीत, नाटक तथा नृत्य विधामा महत्त्वपूर्ण योगदान पु¥याउनु हुने छजना स्रष्टा तथा सर्जकलाई प्रदान गरिँदै आएको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ मा यस वर्षको सङ्गीत विधातर्फ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिक, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोकगायक नवीनकिशोर राई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक विजयकुमार श्रेष्ठ, नाटक विधातर्फ प्रा डा रामचन्द्र पोखरेल, रङ्गमञ्च विधातर्फ वरिष्ठ निर्देशक भैरव क्षेत्री तथा नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने भएको छ ।
उक्त अवसरमा सांस्कृतिक कार्यक्रमस्वरुप उदिराम खड्काले मयूर नृत्य, प्राज्ञ शान्ति कठायत तथा समूलले देशभक्ति गीतमा नृत्य, वरिष्ठ लोकगायक राजु परियारले लोकगीत, प्राज्ञ परिषद् सदस्य टीका पुनले लोकगीत तथा डक्टर किरात राईको संयोजनमा कलाकारहरूले शास्त्रीय यमन राग प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्