लकडाउनपछि अन्यत्र संक्रमितको संख्या घट्दा नेपालमा बढ्दै- खुकुलो कि अझै कडा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सरकारी संचार माध्यमहरुसंगको कुराकानीमा लकडाउन खुकुलो हुँदैन, यो जनताको जीवनरक्षाका लागि हो भन्दै “आर्थिक अवस्था विग्रिए अर्को वर्ष सुधार्न सकिन्छ तर मान्छे मरे अर्को वर्ष फिर्ता ल्याउन सकिंदैन” भन्नुभएको थियो ।
नेपालमा अन्यत्र मुलुकको जस्तो लकडाउनपछि संक्रमितको वृद्धिदर घटेको नभै बढेको छ । दुई जना संक्रमित भेटिएपछि सुरु गरिएको लकडाउनको यो अवधिमा ४९ जना संक्रमित भेटिएका छन् । यस अवधिमा ११ जना निको भएर घर फर्केका छन् । भारतमा लकडाउन अघि २१ प्रतिशतले संक्रमित बढिरहेकामा लकडाउनपछि ८ प्रतिशतमा झरेको छ । नेपालमा के गर्दा हुन्छ भन्ने दृष्टान्त विश्वका अन्य मुलुकहरुको अनुभवबाट पनि सिक्नुपर्ने हुन्छ ।
तर, अहिले लकडाउन कहाँ, कसरी खुकुलो पार्न सकिन्छ, विशेष गरी काठमाडौं, पोखरा जस्ता आर्थिक रुपमा महत्वपूर्ण ठानिएका जिल्लाहरुको अहिलेसम्मको स्थितिलाई हेरेर लकडाउन खुकुलो गर्ने चर्चासंगै त्रास पनि बढाएको छ । कतै यसले युरोप र अमेरिकाको जस्तो त हुँदैन भन्ने चिन्ता पनि व्यक्त भैरहेको छ ।
यसबीचमा चैत ११ गतेदेखी जारी लकडाउनको पछिल्लो अवधि सकिन २ दिन बाँकी रहँदा अब स्थान र स्थिति हेरेर लकडाउन खुकुलो बनाउनुपर्न सुझाव आइरहेका बेला कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक सिंहदरवारमा शुरु भएको छ ।
शुक्रबार मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी बनाएर ल्याउन उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएसंगै शनिबार समितिको बैठक बसेको हो ।
कोरोना संक्रमितको संख्यालाई हेरेर सरकारले वर्गीकरण गरी लकडाउनलाई सोही अनुसार लागू गर्ने तयारी गरेको बताइएको छ । जसअनुसार उदयपुर, पर्सा लगायतका संक्रमण देखिएका क्षेत्रलाई १ संवेदनशील क्षेत्र मानिएको छ । यो क्षेत्रमा लकडाउन झन् कडा बनाउने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी थप्ने र यसमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने । यो क्षेत्रमा परीक्षण पनि व्यापक मात्रामा बढाउने तयारी सरकारको छ ।
यो मोडालिटीमा जाँदा दोस्रो नम्बरमा सुदूरपश्चित र कर्णाली प्रदेशका लागि अर्कै रणनीति अपानाइनेछ । यो क्षेत्रमा संक्रमण छैन तर परीक्षण हुन बाँकी ठूलो समूह छ । यसैले यहाँ परीक्षण अझै बढाउने र लकडाउन पनि तुरुन्तै खुकुलो नपार्ने रणनीति सरकारले लिन सक्छ ।
समितिको बैठकमा यस्ता विषयमा छलफल भए पनि आर्थिक क्षेत्र मानिने जिल्लामा लकडाउन खुकुलो गर्दा युरोप र अमेरिकाको जस्तो स्थिति नआउला भन्न नसकिने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्