जनकपुरमा धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय बैठक
सुनसरीमा दुई धार्मिक समुदायबीचको झडपले उग्ररुप लिंदै यसको प्रभाव देखिएपछि धनुषा जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा आँच आउन नदिन सर्वपक्षीय प्रतिबद्धता व्यक्त गरिएको छ ।
एआई सिर्जित नमूना तस्वीर
बुधबार जिल्लामा बसेको सर्वपक्षीय सद्भाव बैठकमा सुनसरीको घटना पश्चात धनुषा जिल्लामा समेत उक्त प्रकारका संवेदनशील घटना घट्नसकने भएकाले उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।
विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही गरिने निर्णय भएको छ ।
फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत एक अर्काप्रति घृणा र धार्मिक विद्वेष फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नियन्त्रण गरिने बैठकले निर्णय गरेको छ ।
प्रजिअ प्रेमप्रसाद लुइँटेलले विभिन्न धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचाराको सम्बन्ध कायम गर्न समुदायका अगुवा, नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल, विभिन्न सङ्घसंस्था तथा स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो तर्फबाट पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
आपराधिक गतिविधिमा लागेकालाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने निर्णयमा उल्लेख छ ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार चौधरी तथा हिन्दु र मुस्लिम समुदायका प्रतिनिधि, राजनीति दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।




प्रतिक्रिया राख्नुहोस्