इरान शान्ति वार्ताको आशाले तेलको मूल्यमा गिरावट
मध्यपूर्वमा दोस्रो चरणको वार्ता पुन: सुरु हुने सङ्केत देखिएसँगै शुक्रबार तेलको मूल्यमा गिरावट आएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ताको तयारी भइरहेको छ।
खाडी क्षेत्रबाट हुने ऊर्जा ढुवानीमा अवरोध पुर्याइरहेको युद्ध अन्त्य हुने आशा पलाएपछि बजारमा यो प्रभाव देखिएको हो। उता शेयर बजारमा भने मिश्रित प्रतिक्रिया देखिएको छ।
न्यूयोर्कको प्रविधि-केन्द्रित नास्डक कम्पोजिटमा वृद्धि भएको छ। विशेषगरी चिप निर्माता कम्पनी इन्टेलको त्रैमासिक आम्दानी अपेक्षाभन्दा निकै राम्रो भएपछि यसको शेयर मूल्यमा २५ प्रतिशतको उछाल आएको छ।
यसअघि, मध्यपूर्व संकट समाधानमा प्रगति नभएको, इरानले हर्मुज जलडमरू बन्द राखेको र अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेका कारण तेलको मूल्य बढिरहेको थियो।
तर, इरानी विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामावाद पुग्ने खबर सार्वजनिक भएपछि मूल्य ओरालो लागेको हो। अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड को मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। “लगानीकर्ताहरू यस सकारात्मक समाचारमा भरोसा गरिरहेका छन्।
सप्ताहन्त अघि स्थिति शान्त हुने सङ्केतले उनीहरू जोखिमपूर्ण सम्पत्ति खरिद गर्न उत्साहित देखिएका छन्,” ट्रेडिङ प्लेटफर्म ‘एक्सटीबी’ की अनुसन्धान प्रमुख क्याथलिन ब्रुक्सले भनिन्।
यद्यपि, अराघची र उनको टोलीले अमेरिकी अधिकारीहरूसँग भेट्ने वा नभेट्ने भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन। यसैबीच, इजरायल र लेबनान तीन हप्ताका लागि युद्धविराम लम्ब्याउन सहमत भएपछि बजारको मनोबल थप बढेको छ।
इरानी सरकारी सञ्चारमाध्यमले विदेशमन्त्री अब्बास अराघची शुक्रबार पाकिस्तान प्रस्थान गर्ने कुरा पुष्टि गरेका छन्। पाकिस्तानले मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ।
आधिकारिक समाचार एजेन्सी ‘इर्ना’ले जनाएअनुसार “इरानका विदेशमन्त्रीले शुक्रबार साँझ (अप्रिल २४) बाट आफ्नो क्षेत्रीय भ्रमण सुरु गर्दै हुनुहुन्छ। यस क्रममा उहाँले इस्लामावाद, मस्कट र मस्कोको भ्रमण गर्नुहुनेछ।”
एक पाकिस्तानी अधिकारीले यस भ्रमणबारे खुलासा गरेलगत्तै इरानको तर्फबाट यो आधिकारिक पुष्टि आएको हो। यस भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय परामर्श, क्षेत्रीय घटनाक्रमबारे छलफल, र “अमेरिका तथा इजरायलद्वारा इरान विरुद्ध थोपरिएको युद्ध” को पछिल्लो अवस्थाको समीक्षा गर्नु रहेको छ।





प्रतिक्रिया राख्नुहोस्