जापानबिशेष

तोहोकु क्षेत्रमा किन पटक-पटक शक्तिशाली भूकम्प गइरहेको छ ?

जापानको तोहोकु तटीय क्षेत्रमा यही अप्रिल २० सोमबार गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनीहरूका अनुसार भूकम्पको केन्द्रविन्दु दुईवटा आपसमा ठोक्किइरहेका ‘टेक्टोनिक प्लेट’ माथि रहेको छ, जहाँ निरन्तर चाप बढिरहेको छ।

सोमबारको भूकम्पपछि सरकारले होक्काइडोदेखि चिबासम्मका सातवटा प्रान्तका १८२ वटा नगरपालिकाहरूमा ८ म्याग्निच्युड वा सोभन्दा ठूलो शक्तिशाली भूकम्प जान सक्ने भन्दै ‘विशेष सल्लाह’ जारी गरेको छ। यो चेतावनी एक हप्तासम्म लागू रहनेछ, यद्यपि चेतावनी हटेपछि पनि जोखिम पूर्ण रूपमा समाप्त नहुने बताइएको छ।

जापान मौसम विज्ञान एजेन्सीले सन् २०२२ मा यो चेतावनी प्रणाली सुरु गरेयता यस्तो सूचना जारी गरेको यो दोस्रो पटक हो। यसअघि गत डिसेम्बरमा सानरिकु तटमा ७.५ म्याग्निच्युडको भूकम्प जाँदा पहिलो पटक यस्तो सूचना जारी गरिएको थियो।

सन् २०११ को विनाशकारी ‘ग्रेट इस्ट जापान’ भूकम्पकै क्षेत्रमा किन बारम्बार यति ठूला भूकम्प गइरहेका छन् भन्ने विषयमा यसको भौगोलिक प्रक्रिया र विगतका झट्काहरूसँगको सम्बन्धलाई तल विश्लेषण गरिएको छ-

यो कस्तो प्रकारको भूकम्प थियो ?

यो ‘इन्टरप्लेट सबडक्सन-जोन’ प्रकारको भूकम्प थियो। यस्ता भूकम्पहरू प्लेटहरूको सिमानामा जान्छन्, जहाँ एउटा महासागरीय प्लेट अर्को महाद्वीपीय प्लेटमुनि धसिन्छ। महासागरीय प्लेट तल जाँदा यसले महाद्वीपीय प्लेटको किनारलाई पनि तलतिर तान्छ, जसका कारण त्यहाँ ऊर्जा सञ्चित हुन्छ।

जब महाद्वीपीय प्लेटले त्यो चाप खप्न सक्दैन, यो अचानक पुरानै अवस्थामा फर्कन्छ (Snap back), जसले गर्दा ठूलो मात्रामा ऊर्जा निस्कन्छ र भूकम्प जान्छ।

के यो सन् २०११ को भूकम्पको परकम्प हो ?

तोहोकु विश्वविद्यालयका विज्ञ फुमियाकी तोमिताका अनुसार सन् २०११ को भूकम्पको ऊर्जा सयौँ वर्षदेखि सञ्चित भएको थियो। तर सोमबारको भूकम्प तुलनात्मक रूपमा सानो छ र यसले केही दशकदेखि सञ्चित चापलाई मात्र बाहिर निकालेको मानिन्छ।

धेरै समय बितिसकेकाले यसलाई सन् २०११ को सिधा परकम्प भन्न गाह्रो हुने तोमिताले बताए। तर यो यस्तो क्षेत्रमा गएको छ जहाँ विगतदेखि नै ऊर्जा सञ्चित हुने र ७ म्याग्निच्युडका भूकम्पमार्फत ऊर्जा बाहिरिने क्रम दोहोरिइरहन्छ।

डिसेम्बरको भूकम्पसँग यसको तुलना

सोमबारको भूकम्पको ‘मोमेन्ट म्याग्निच्युड’ ७.४ मापन गरिएको छ, जुन डिसेम्बरमा गएको ७.५ को भूकम्पसँग मिल्दोजुल्दो छ। यद्यपि, यिनीहरूको केन्द्रविन्दु भने केही फरक छ। सोमबारको भूकम्प इवाते तटमा गएको हो, जुन डिसेम्बरमा आओमोरी तटमा गएको भूकम्पको केन्द्रविन्दुभन्दा थोरै दक्षिणमा पर्छ।

निकट भविष्यमा अर्को ठूलो भूकम्प जाने सम्भावना कति छ?

ऐतिहासिक तथ्याङ्क अनुसार, ठूलो भूकम्प गएको एक हप्ताभित्र ८ म्याग्निच्युड वा सोभन्दा ठूलो भूकम्प जाने सम्भावना १% हुन्छ। सामान्य अवस्थामा यस्तो जोखिम केवल ०.१% मात्र हुन्छ।

सन् १९०४ देखि २०२१ सम्म विश्वभरि गएका ७.० वा सोभन्दा ठूला भूकम्पहरूमध्ये १९ पटक, पहिलो साताभित्रै ७.८ वा सोभन्दा ठूलो भूकम्प गएको रेकर्ड छ।

विशेषज्ञ तोमिताका अनुसार प्लेटहरूमा अझै पनि चाप बाँकी रहेकाले सतर्क रहनु आवश्यक छ। “निकट भविष्यमा यो भन्दा ठूलो वा यस्तै आकारको भूकम्प जानु अनौठो हुने छैन,” उनले भने। “हामीले त्यो सम्भावनालाई ध्यानमा राख्दै सधैँ सजग रहनुपर्छ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.