कोरोना संक्रमण : जनवरी ११ मा पहिलो मृत्यु, अप्रिल २५ मा आइपुग्दा दुई लाख बढी
चीनको वुहानमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट चीनमा जनवरी ११, २०२० मा पहिलो मृत्यु भएको थियो । त्यसयता विश्वका २ सय १० भन्दा बढी देश तथा भूभागमा दुई लाखभन्दा बढीको मृत्यु भएको छ ।
कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वभर २८ लाखभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको संख्या दुई लाख नाघेको छ।
दुई लाख मृत्युमध्ये संयुक्त राज्य अमेरिकामा मात्र ५० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ ।
पाँचवटा देशले कोरोनाभाइरसका कारण अहिलेसम्म आआफ्नो देशमा २० हजारभन्दा बढी व्यक्तिहरूको ज्यान गएको जनाएका छन् । संयुक्त राज्य अमेरिका, इटली र स्पेनमा सबैभन्दा बढी मृत्युका घटना देखिएका छन् ।
ब्रिटेनको स्वास्थ्य मन्त्रालयले शनिवार घोषणा गरे अनुसार त्यहाँका अस्पतालहरूमा कोरोनाभाइरसबाट मृत्यु हुनेहरूको सङ्ख्या २० हजारभन्दा बढी छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ९६९ जना, स्पेनमा २२ हजार ५२४ जना, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ जना, बेल्जियममा ६ हजार ६७९ जना, जर्मनीमा ५ हजार ७६० जना, नेदरल्यान्ड्समा ४ हजार २८९ जना, स्वीडेनमा २ हजार १५२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५८९ जना, रसियामा ६१५ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ५७४ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ३ हजार ७०४ जना, मेक्सिकोमा १ हजार २२१ जना, भारतमा ७७५, इन्डोनेसियामा ६८९ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।
रुसमा शनिबारसम्ममा ७४ हजार ५८८ पुगेको मस्कोद्वारा सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ । रूसमा विगत २४ घण्टामा थप पाँच हजार ९६६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उक्त भाइरसको सङ्क्रमणका कारण रूसमा ६ सय ८१ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा थप ६६ व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । त्यस्तै रूसमा सङ्क्रमितमध्ये छ हजार २५० जना निको भएर घर फर्किएका छन् विगत २४ घण्टामा मात्रै रूसमा ६८२ कोरोना सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका बताइएको छ ।
देशको सबैभन्दा बढी प्रभावित मानिएको राजधानी मस्कोमा विगत २४ घण्टामा थप दुई हजार ६१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रूसी राजधानीमा शनिबारसम्ममा ३९ हजार ५०९ जनामाा सङ्क्रमण देखिएको छ ।
रूसको उपभोक्ता अधिकार तथा मानवहितका लागि सक्रिय संस्था रोसपोट्रेवनाजोरले शनिबार एक विज्ञप्ति जारी गरी रूसमा शुक्रबारसम्ममा एक लाख ६८ हजार ५५ व्यक्तिलाई भाइरस सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । भाइरस सङ्क्रमणको सुरूको अवस्थामा ल्याब परीक्षणमा पनि सङ्क्रमण पुष्टि नदेखिने हुँदा उनीहरूलाई निगरानीमा राखिएको हो ।
रूसमा पहिलो दुई व्यक्तिमा सङ्क्रमण जनवरी ३१ मा भेटिएको भए पनि मार्चको अन्त्यपछि मात्रै सङ्क्रमित सङ्ख्यामा वृद्धि भएको थियो । अहिलेसम्ममा एकैदिन सबैभन्दा बढी यही अप्रिल १९ मा छ हजार ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
रूसको यतिवेलाकोे सबैभन्दा प्रमुख कार्य कोभिड–१९ सङ्क्रमण र सामाजिक तथा आर्थिक क्षतिको प्रभावलाई नियन्त्रण गर्ने रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबार बताउनुभएको थियो ।
रूसी केन्द्रीय बैंकले शुक्रबार उसको प्रमुख कर्जा दरलाई सन् २०१३ पछि पहिलो पटक ०।५ प्रतिशत अङ्कले कटौती गर्दै कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति लिई ५.५ प्रतिशत बनाएको थियो ।
प्रतिक्रिया राख्नुहोस्